देवानगञ्ज । देवानगञ्ज गाउँपालिकामा माघ २३ गते देखि एचपीभी खोप लगाउने भएको छ। पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने भएको हो ।
शुक्रबार राष्ट्रिय खोप कर्यक्रम अन्तर्गत एचपीभी खोप अभियन २०८१ सम्बन्धि पालिका स्तरीय १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सो विषयमा देवानगञ्ज गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक गणेश यादवले जानकारी गराउनुभएको थियो। देशभर २२ गते देखि एचपीभी खोप सुरु भए पनि विद्यार्थीहरुको महान पर्व सरस्वती पुजा परेकोले गर्दा देवानगञ्ज गाउँपालिकामा स्वास्थ्य चौकीहरूमा माघ २२ गते र विद्यालयहरूमा २३ गते देखि सुरु गर्ने उहाँले बताउनुभयो ।
सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले देशभरका १० देखि १४ वर्षसम्मका र कक्षा ६ देखि १० सम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको(एचपीभी) खोप लगाउन लागेको देवानगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश पण्डितले बताउनुभयो ।
संयोजक पण्डितका अनुसार देवानगञ्ज गाउँपालिकाका कक्षा ६ अध्यनरत २६५ छात्रा ,कक्षा ७ देख १० सम्म अध्यनरत ९९४ छात्रा , विद्यालय बाहिर १० वर्षका २५ छात्रा र विद्यालय बाहिर ११ देखि १४ वर्षका ५०८ किशोरी गरी १७९२ किशोरीलाई एचपीभी खोप लगाउने भएको छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ र वार्षिक २ हजारको मृत्यु हुने गरेको जनस्वास्थ्य शाखा सुनसरीका अधिकृत प्रतिमा न्यौपानेले बताउनुभयो ।
डा. न्यौपानेका अनुसार एचपीभी खोप ९ देखि १४ वर्षका किशोरीलाई भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने उहाँले बताउनुभयो ।
सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन,’ डा. न्यौपाने भन्छन्, ‘भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुन सक्ने अन्य समस्याहरुबाट पनि बचाउँछ ।
एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ । तर खोप मात्र पर्याप्त छैन । नियमित स्वास्थ्य जाँच पनि उत्तिकै महत्वपूर्ण छ । सुरुआती चरणमा लक्षण नदेखिनसक्छ । त्यसैले नियमित स्क्रिनिङ गराउनु जरुरी छ । स्क्रिनिङको माध्यमबाट पनि सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । त्यसका लागि भीआईएलाई टेष्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गर्न सकिन्छ ।
एचपीभी खोप अभियान २०८१ माघ २२ गते फागुन ७ गते सम्म चल्नेछ। यो अभियान यस वर्षको मात्र होइन । यसलाई अगामीको वर्ष नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिका या कक्षा ६ मा अध्यनरत छात्रालाई मात्रै दिने सरकारको योजना रहेको छ । अर्को वर्षदेखि नियमित खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ । विद्यालयहरुमा नै खोप केन्द्र स्थापना गर्ने र हरेक वर्ष १० वर्ष उमेरका या कक्षा ६ मा अध्यनरत विद्यार्थीलाई लगिने छ । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ। तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ ।