विराटनगर । विराटनगर महानगरपालिका वार्ड नं. १९ मा रहेको वैजनाथपुर अस्पतालले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने भएको छ ।
बैजनाथपुर अस्पतालका प्रमुख भोला तिम्सिना, विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलीप यादवको विशेष पहलमा यो अस्पतालले स्वास्थ्य बिमा अन्तर्गतको प्रथम सेवा केन्द्रको रूपमा काम गर्ने भएको छ ।
यसबाट उत्तर क्षेत्रका बासिन्दाहरूको लागि सहज हुने भएको छ ।
५ बेडको यो अस्पतालले अस्पतालमा आएका स्वास्थ्य बिमामा नाम समावेश भएको व्यक्तिहरूले सहज रूपमा सेवा पाउने र स्वास्थ्य बिमाअन्तर्गतको सेवा समेत पाउने भएका छन् ।
प्रथम बिन्दुमा स्थापित भई सेवा सञ्चालन भदौ २२ गतेदेखि हुने कुरा महानगर निकट सूत्रले बताएको छ ।
भदौ १ गते काठमाडौँमा स्वास्थ्य बिमा बोर्ड र बैजनाथपुर अस्पतालबिच सम्झौता भइसकेको हुँदा सोअन्तर्गत गर्नुपर्ने पूर्वाधार तयार गर्ने काम भइरहेको छ ।
पूर्वाधार तयार गर्ने काम भइरहेको हुँदा भदौ २२ गतेदेखि सेवा दिने बताइन्छ ।
यसबाट स्वास्थ्य बिमाअन्तर्गतको पहिलो सेवा केन्द्रको रूपमा विराटनगर महानगरपालिकाभित्र २ वटा स्वास्थ्य संस्थाले पाउने छन् ।
रानीको स्वास्थ्य केन्द्रको रूपमा अनुमति पाई काम गर्दै आएको छ भने दोस्रोमा बैजनाथपुर अस्पताल रहने छ ।
यसले उत्तर र दक्षिण क्षेत्रका व्यक्तिलाई समेट्ने छ भने बिचको व्यक्तिलाई कोसी अस्पतालले समेट्ने छ र स्वास्थ्य बिमा अन्तर्गतको सेवा प्रदान गर्ने छ ।
यसबाट स्वास्थ्य संस्था केही हदसम्म भए पनि आर्थिक रूपले सम्पन्न हुनुका साथै स्वास्थ्य बिमाभित्रका बिरामीलाई सेवा दिनेतर्फ क्रियाशील हुने देखिएको छ ।