विराटनगर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, विराटनगरले स्वर्ण बिन्दु प्राशन खोप कार्यक्रम सम्पन्न गरेको छ।

आयुर्वेद पद्धतिअनुसार पुष्प नक्षत्रको दिन पारेर एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइएको केन्द्रले जनाएको छ।

कार्यक्रमका क्रममा बालबालिकाको तौल, पखुराको मापन, टाउकोको कोलाई नाप्ने तथा अभिभावकसँग बालबालिकाको बोल्ने, प्रतिक्रिया दिने अवस्था सम्बन्धी जानकारी लिने काम समेत गरिएको थियो।

सो कार्यक्रममा जम्मा ३१७ जना बालबालिकाले सेवा लिएका थिए, जसमा १४८ जना बालिका र १६९ जना बालक रहेका थिए।

केन्द्रका कार्यालय प्रमुख प्रमोद चौधरीका अनुसार, आफ्ना बालबालिकालाई औषधि खुवाउन अभिभावकको सक्रिय सहभागिता देखिनु आयुर्वेदप्रतिको जनविश्वास बढ्दै गएको सकारात्मक संकेत हो।

उनका अनुसार स्वर्ण बिन्दु प्राशनले बालबालिकाको बुद्धि, स्मरणशक्ति, पाचनशक्ति, व्यवहार सुधार, शारीरिक बल वृद्धि तथा रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन सहयोग पुर्‍याउँछ।

स्वर्ण बिन्दु प्राशन भन्नाले सुनको भस्म मिसाइएको घिउ र मधुको मिश्रण हो, जसलाई थोपाका रूपमा बालबालिकालाई खुवाइन्छ। चौधरीले आयुर्वेद पद्धतिद्वारा मानव स्वास्थ्यमा देखिएका धेरै जटिल रोगहरूको उपचार सम्भव हुने दाबी समेत गर्नुभयो।

तपाईको प्रतिक्रिया