विराटनगर। विराटनगरका विभिन्न सडकमा जडान गरिएका सोलारबाट बल्ने सडकबत्ती लामो समयदेखि बन्द अवस्थामा छन्। सोलार बत्ती नबल्दा रातको समयमा सडक अन्धकारमय बनेको छ भने यसतर्फ विराटनगर महानगरपालिका ले पर्याप्त ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार सोलार बत्ती नबल्नुका सम्भावित कारणमध्ये सोलार प्यानलमा धुलो जमेर ब्याट्री चार्ज हुन नसक्नु वा ब्याट्री नै काम नलाग्ने अवस्थामा पुग्नु हुन सक्छ। तर यसको वास्तविक कारणबारे महानगरपालिकाबाट कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
पछिल्ला दुई–तीन महिनादेखि विराटनगरको पानी ट्याङ्की क्षेत्रदेखि पुष्पलाल चोक, चन्द्र शिव राइस मिल हुँदै कञ्चनबाडीतर्फ जाने सडकसहित अन्य स्थानमा जडान गरिएका सोलार बत्तीले काम गर्न छोडेको स्थानीयले बताएका छन्।
यसअघि भीम पराजुली मेयर रहेका बेला केही वर्षपछि नबलेका सोलार बत्तीहरू सफा गरी पुनः सञ्चालनमा ल्याइएको उदाहरण स्थानीयले स्मरण गरेका छन्। त्यतिबेला सोलार प्यानल सफा गरिएपछि पर्याप्त प्रकाश परेर ब्याट्री चार्ज भएको र बत्ती पुनः बल्न थालेको उनीहरूको भनाइ छ।
तर अहिले महानगरपालिकाले सोलार प्यानल सफा गर्नुको सट्टा सिधै ब्याट्री निकाल्ने काम गरिरहेको आरोप लाग्दै आएको छ। ब्याट्री निकालिएपछि सोलार बत्ती स्वाभाविक रूपमा नबल्ने भएकाले निकालिएका ती ब्याट्रीहरू कहाँ र कसरी व्यवस्थापन गरिएका हुन् भन्ने प्रश्न उठेको छ।
उक्त ब्याट्रीहरू अझै प्रयोगयोग्य थिए वा थिएनन् भन्ने विषयमा पनि स्पष्टता छैन। तर यसबारे विराटनगरवासीको ध्यान पर्याप्त रूपमा जान नसकेको देखिन्छ।
स्थानीयले महानगरपालिकाको कामप्रति आलोचना गर्दा ‘जेन्जी आन्दोलन’को कारण देखाउँदै जवाफ फर्काउने प्रवृत्ति बढेको गुनासो पनि गरेका छन्। ब्याट्री निकालिसकेपछि महानगरपालिकाले सोलार प्यानल नै हटाएर अन्यत्र प्रयोग गर्ने वा बेच्न सक्ने आशंका समेत नागरिकस्तरमा व्यापक रूपमा व्यक्त हुन थालेको छ।
यदि सार्वजनिक सडकमा जडान गरिएका सोलार संरचना अन्यत्र सारियो वा बिक्री गरियो भने त्यसले थप विवाद सिर्जना गर्ने निश्चित देखिन्छ। यस विषयमा महानगरपालिकाले यथाशीघ्र स्पष्ट धारणा सार्वजनिक गरी सोलार सडकबत्ती पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।








