विराटनगर । पौष २७ गतेलाई गणतान्त्रिक सरकारले दिनुपर्ने जति महत्व नदिएको देखिन्छ। पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने माग रहँदै आए पनि सरकारले यस दिवसलाई औपचारिक रूपमा उपेक्षा गरेको आरोप लाग्दै आएको छ। यद्यपि, जनस्तरबाट भने आफ्नै पहलमा पौष २७ गतेलाई श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको योगदानलाई आफ्नो मूलमन्त्रका रूपमा स्मरण गर्दै आएको छ भने विराटनगरमा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पनि हरेक वर्ष उत्साहपूर्वक पृथ्वी जयन्ती मनाउँदै आएको छ। यस वर्ष पनि उक्त समितिले विराटनगरलाई ‘पृथ्वीमय’ बनाउने तयारी गरेको जनाएको छ।
समितिका अध्यक्ष बल्लप्रसाद दाहालले पौष २७ गते नेपालीहरूका लागि अत्यन्तै महत्वपूर्ण दिन भएको बताउँदै यो दिन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन भएको स्मरण गराए। उनले नेपाली समाजले यस ऐतिहासिक दिनलाई बिर्सन नहुने धारणा व्यक्त गरे।
“आज हामी जुन धरातलमा उभिएर विश्व सामु ‘नेपाल’ र ‘नेपाली’ भनेर चिनिन सफल भएका छौँ, त्यसको मूल कारण पृथ्वीनारायण शाहले २२–२४ वटा साना राज्यलाई एकीकरण गरी नेपाल राष्ट्रको निर्माण गर्नु हो,” दाहालले भने। उनका अनुसार इतिहासलाई बङ्ग्याएर पृथ्वीनारायण शाह र उनका वंशजहरूले नेपाल र नेपालीका लागि गरेको योगदानलाई गलत रूपमा व्याख्या गर्ने प्रवृत्ति बढ्दो छ, जुन अन्ततः स्वयम् समाजका लागि नै प्रतिउत्पादक हुने उनले चेतावनी दिए।
इतिहासलाई इतिहासकै रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै दाहालले भने, “गलत व्याख्या र गलत भाष्य प्रयोग गरेर इतिहासमाथि प्रहार गरिन्छ भने त्यसको नेपाली समाजले सशक्त प्रतिवाद गर्नुपर्छ।”








