देवानगञ्ज । मैथिली भाषा र लोकसंस्कृतिको जगेर्नामा समर्पित एक विशेष अवसरका रूपमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा लोककला प्रतिभा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

देवानगञ्ज गाउँपालिकाको सहयोग तथा अप्पन विराटगढ परोपकार समाजको आयोजनामा शनिबार दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा मैथिली भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा लोकसंस्कृतिसँगै जनजागरणको सन्देश पनि प्रवाह गरिएको थियो।
कार्यक्रममा गायक वीरन्द्र झा, सलोनी सोनी, साक्षी मेहता, पूर्णिमा रानी मेहता तथा स्थानीय बालबालिकाहरूले प्रस्तुत गरेका गीत तथा नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

सो अवसरमा देवानगञ्ज गाउँपालिकाका स्थानीय पत्रकारहरू—नेपाल पत्रकार महासंघ मोरङ शाखाका सदस्य तथा आजको अपडेट का सञ्चालक डुमरलाल मेहता, नमो अनलाइन का सञ्चालक ब्रह्मदेव मेहता, आर्य न्युज का सञ्चालक राजीव मेहता, पब्लिक नेपाल का सुनसरी संवाददाता जुगेश दास तथा सनराइज पत्र का सञ्चालक अजय मण्डललाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता तथा आयोजक संस्थाका अध्यक्ष बसुधरा झाले सम्मानित व्यक्तित्वहरूलाई मिथिलाको परम्परागत पाग, दोपट्टा र कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो। साथै, कार्यक्रममा मैथिली चित्रकला तथा विविध सांस्कृतिक सामग्रीको प्रदर्शनीले मिथिला संस्कृतिको सौन्दर्य झल्काएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मेहताले जितिया, सामाचकेवा जस्ता मिथिला सभ्यताका पर्व तथा संस्कार संरक्षणका लागि यस्ता पहल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा यस्ता सांस्कृतिक गतिविधिका लागि गाउँपालिकाबाट आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।

कार्यक्रममा देवानगञ्ज गाउँपालिका–२ का वडा अध्यक्ष जगनारायण मेहता, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहता, अमलेश कर्णलगायत वक्ताहरूले मैथिली भाषा, लोककला संरक्षण तथा सांस्कृतिक चेतनाबारे आ–आफ्ना धारणा राखेका थिए।

मैथिलीमा

तपाईको प्रतिक्रिया