विराटनगर । सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षित चालक अभियान सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै उक्त अभियान सञ्चालन गरेको हो।
पौष १७ गतेदेखि सुरु गरिएको यस अभियानअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका चालकलाई ‘सुरक्षित चालक’ अंकित ज्याकेट वितरण गरिँदै आएको छ। हाल विराटनगरमा मात्रै ७ हजारभन्दा बढी सिटी र टेम्पु सञ्चालनमा रहेका छन्। तर ती सवारी साधन चलाउने धेरै व्यक्तिसँग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ। साथै, केही भारतीय नागरिकले पनि सिटी अटो चलाइरहेका छन्।
यस अवस्थाले सिटी तथा टेम्पु सञ्चालन अव्यवस्थित बन्दै गएको देखिन्छ।
विशेषगरी जोगनीबाट विराटनगर उपचारका लागि आउने भारतीय नागरिकलाई ल्याउने क्रममा सिटी चालकहरूले क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ। यसले दुर्घटना भएमा ठूलो मानवीय क्षति हुनसक्ने जोखिम बढाएको छ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकसँग जिज्ञासा राख्दा, अव्यवस्थित रूपमा सञ्चालनमा रहेका सिटी सवारीलाई व्यवस्थित गर्न सुरक्षित चालक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त चालकको विवरण अभिलेख राखी सुरक्षित चालक नामक ज्याकेट प्रदान गरिएको हो।
उक्त ज्याकेट लगाएका सवारी साधनमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। सुरक्षित चालक अभियानअन्तर्गत ज्याकेट लगाएका सवारी साधनलाई प्राथमिकता दिँदा अव्यवस्थित रूपमा सवारी चलाउने चालकहरू क्रमशः निरुत्साहित हुँदै गएको उहाँको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पौष १७ गतेदेखि हालसम्म २०० भन्दा बढी सवारी चालकले सुरक्षित चालक अभियान अंकित ज्याकेट प्राप्त गरिसकेका छन्।






