विराटनगर । पूर्वाञ्चलको ऐतिहासिक नगरी विराटनगर स्वास्थ्य र शिक्षा क्षेत्रको लागि उर्वरा भूमि बन्दै गइरहेको छ ।
विराटनगरमै मात्र १ दर्जनभन्दा बढी सञ्चालनमा रहेका छन् भने आँखा अस्पताल पनि १ दर्जनकै हाराहारीमा रहेका छन् ।
निजी क्लिनिक र पोलिक्लिनिकको नाममा अघोषित रूपमा अस्पतालकै रूपमा सञ्चालनमा आइरहेका छन् भने निजी शिक्षण संस्था पनि सोही हाराहारीमा रहेका छन् ।
यसरी स्वास्थ्य र शिक्षाको हबको रूपमा स्थापित भए पनि शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुग्न सकेको छैन । शिक्षा र स्वास्थ्य निकै महँगो भएको छ । यी निकायहरूले खुला प्रतिस्पर्धा नाममा सेण्डिकेट नै खडा गरेर ब्रह्म लुट मच्चाउँदै आइरहेका छन् तर नियमनकारी निकायले एकपछि अर्को कानुन देखाउँदै उनीहरूलाई अप्रत्यक्ष रूपमा समर्थन गरिरहेका छन् ।
निजी स्वास्थ्य संस्था र निजी शिक्षण संस्थाहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा दलका नेताको लगानी हुने गरेको छ र उनीहरूकै अनुकूल ऐन कानुन बनाएर अगाडि बढिरहेका छन् ।
निजी अस्पतालहरूमध्ये अधिकांश अस्पतालहरूमा एम्बुलेन्सले बिरामी ल्याइदिए बापत अस्पतालबाट मोटो कमिसन लिने गरेका छन् ।
बिरामी लिएर आउने व्यक्तिले बिरामीलाई एम्बुलेन्सबाट उतारेपछि बिरामीलाई आकस्मिक कक्षतर्फ लाने गरेका छन् । सुरक्षा गार्डले एम्बुलेन्सको चालकको नाम बिरामीको नाम टिपेर राख्ने गरेका छन् । एम्बुलेन्स चालकले कुपन लाने गरेका छन् । हप्तामा आएर आफूले पाउने रकम लाने गरेको कुराले अहिले निकै चर्चा पाइरहेको छ ।
जटिल बिरामीलाई अस्पतालमा ल्याएपछि उक्त अस्पतालले उपचार बापत लिने रकममध्ये कम्तीमा १० प्रतिशत एम्बुलेन्स चालकलाई दिने गरेको कुरा निजी अस्पताल सञ्चालकले बताएका छन् ।
अधिकांश एम्बुलेन्स चालकले निजी अस्पतालमा गई अस्पताल व्यवस्थापकलाई भेटेर मैले बिरामी ल्याएबापत मलाई कति प्रतिशत दिने भनेर सोध्ने गरेका छन् । जसले बढी प्रतिशत दिन्छन् त्यही बिरामी पुर्याउने गरेको पाइएको छ ।
केही एम्बुलेन्स चालकले उपचार नहुने रोगको पनि उपचार हुन्छ भनेर निजी अस्पतालमा पुर्याउने गरेका छन् । अस्पतालले पनि बिरामी भर्ना लिई नाटकीय रूपमा उपचार गर्ने र अन्तमा रिफर गर्ने गरेको पाइएको छ ।
कुन कुन अस्पतालमा के के सेवा छ, के के उपचार हुन्छ त्यसतर्फ नियमनकारी निकायको ध्यान गए पनि कमिसन लिएर नदेखेझैँ गर्ने गरेको बताइन्छ ।
निजी शिक्षण संस्था पनि त्यसरी चलेको छ । एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थीलाई यहाँको उच्च माध्यमिक विद्यालयमा पठाएबापत कमिसन दिने गरेका छन् ।
निजी कोचिङ सेन्टरमा पढ्ने विद्यार्थीलाई उक्त कोचिङ सेन्टरका केही सञ्चालकले फलानोमा राम्रो पढाइ हुन्छ भनेर विद्यार्थी पुर्याउने र पुर्याएबापत कमिसन लिने गरेको कुराले पछिल्लो समय व्यापकता पाएको छ । एस.एल.सी. पास भएपछि एस.एल.सी.मा ल्याएको रिजल्ट अनुसार विद्यार्थीलाई छुट र धेरै विद्यार्थी दिएबापत कोचिङ सेन्टरलाई दिइने छुट हेर्दा कसरी ब्रह्म लुट मच्चाउने गरेका छन् प्रस्ट हुन आउँछ ।