विराटनगर । शिक्षामा सबैको पहुँच पुग्नुपर्छ भन्ने मान्यतालाई सबैले आत्मसात् गर्दै आएका छन् ।
मोरङमा रहेको कटहरी गाउँपालिकाको केही वाडहरूमा मुस्लिम समुदायको बस्ती रहेको छ भने मुस्लिम समुदायले आफ्नो भाषाअनुसार आफ्नो बच्चालाई शिक्षित पार्ने काम गर्दै आउनुभएको छ । यसलाई कटहरी गाउँपालिकाले जुन किसिमले अनुगमन गर्नुपर्ने हो सो किसिमले अनुगमन गर्न नसक्दा बच्चाहरूको शिक्षाको अवस्था कस्तो छ भनेर अहिले स्पष्ट रूपमा भन्न सकिरहेको छैन ।
कटहरी गाउँपालिका भित्रका वार्डहरूमध्ये केही वार्डहरूमा मदरसा हन्फिया कादरिया प्रा.वि., मदरसा तालिमुल कुअनि प्रा.लि., मदरसा जामिया इस्लामिया प्रा.लि., तलिमुल कुरान आधारभूत विद्यालय लगायत १० वटा मुस्लिम समुदायलाई लक्षित गरी विद्यालय सञ्चालनमा आएको छ ।
यसरी सञ्चालनमा आएकामध्ये ८ वटा विद्यालयले सरकारबाट अनुदान पाएका, २ वटा विद्यालयले अनुदान पाउन सकेका छैनन् । सरकारबाट अनुदान पाएका विद्यालयका सञ्चालक एवम् प्रधानाध्यापकलाई विद्यालय सञ्चालन गर्न केही सहज भए पनि २ वटा विद्यालयलाई असहज भएको अनुमान गर्न थालिएको छ ।
कतिपय मदरसाको प्रधानाध्यापक नेपाली नभई अन्य मुलुकका रहेका छन् । केही विद्यालयको प्रअको मोबाइल नम्बर लाग्दैन । उहाँलाई घर कहाँको भनेर सोधेमा स्पष्ट रूपमा भन्न सक्नुहुन्न । खालि उताको भनेर भन्ने गरेको कुराले अहिले निकै चर्चा पाएको छ ।
जुन विद्यालयले अनुमति नलिई सञ्चालनमा रहेको उक्त विद्यालयमा अध्ययन गरी अन्य विद्यालयमा जाँदा मार्कसिट कसरी दिने र विद्यार्थीले कसरी लिने यो समस्या अहिले देखा पर्न थालेको छ ।
मदरसामा रहनुभएका प्रधानाध्यापक र शिक्षकको विवरण सङ्कलन गरी उक्त विद्यालयका शिक्षकलाई तालिम दिलाउनेतर्फ कटकरी गाउँपालिकाले अहिलेसम्म ठोस नीति बनाउन नसकेको बताइन्छ । अनुमति नलिईकन सरकारबाट सुविधा नलिईकन विद्यालय सञ्चालन भएकोमा सुविधा दिलाउनेतर्फ कटहरी गाउँपालिकाको ध्यान जानु जरुरी छ ।