विराटनगर । हार्दिक बचत तथा ऋण सहकारी संस्था, विराटनगर-९ ले घरको कौशीमा कसरी खेती गर्न सकिन्छ भन्ने कुरालाई प्रयोगमा ल्याउन कौशी खेती तालिमको सुरुवात गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा हुन गइरहेको तीन दिने कौशी खेती तालिममा २५ जनाको सहभागिता रहने छ ।
पानसमा बत्ती बाल्दै फूलको गमलामा पानी हालेर प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विश्वनाथ भगतले तालिमको उद्घाटन गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि भगतले कौशी खेतीमा तालिम लिन आउनुहुने सहभागीहरूले तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेमा तालिमको औचित्य प्रमाणित हुने बताउनुभयो ।
कौशीमा लगाइने खेती हाम्रो स्वास्थ्यको लागि लाभदायक हुने र बाहिरबाट ल्याइएको विषादियुक्त तरकारीको प्रयोग कम भई मानव स्वास्थ्यमा फाइदा पुग्ने कुरा भगतले बताउनुभयो ।
संस्थाको अध्यक्ष मिना उपाध्यायको सभापतित्वमा भएको उद्घाटन सत्रमा विराटनगर महानगरपालिका कृषि शाखाका प्रविण उप्रेती, कृषि विज्ञ गोविन्द कोइरालाले कौशी तरकारी खेतीको महत्त्व र आवश्यकता बारेमा प्रकाश पार्नुभएको थियो ।
७, ८ र ९ गतेसम्म चल्ने उक्त तालिममा कृषि विज्ञ सागर भट्टराई, गोविन्द मगरले सहभागीलाई खेतीको बारेमा तालिम दिनुहुनेछ ।
बिउको छनोट, मलखादको प्रयोग, बिरुवामा रोग लागेमा गर्न सकिने निराकरणका विषयमा सहभागीलाई सिकाउनु हुनेछ ।