विराटनगर । दर्शन नेपाल निःशुल्क अभियान नामक संस्थाले वातावरणलाई स्वच्छ बनाउनुका साथै मानवीय सेवा समेत गर्दै आएको छ ।
सरकारी तहबाट मात्र काम हुनुपर्छ भन्ने मान्यतालाई अन्त गर्दै संस्थाले अहिलेलाई विराटनगर-रानी क्षेत्रमा रहेको सडकको बिच भागमा बिरुवाहरू रोप्ने काम गर्दै आएको छ ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालय नजिकको बिचमा राखिएको डिभाइडरदेखि बरगाछीसम्मको डिभाइडर रहेको ठाउँमा ९१ वटा बिरुवाहरू रोप्ने काम सम्पन्न गरेको संस्थाका अध्यक्ष दीपक ढकालले बताउनुभयो ।
यस संस्थाले विराटनगर-६ लालीगुराँस टोल निवासी निर्मा शर्माको पति नारायण शर्मा नसा (स्नायु) रोगबाट पीडित हुनुभएकोमा उहाँको उपचारको लागि ५० हजार नगद आर्थिक सहयोग गराइसकेको छ ।
उक्त ५० हजारमध्ये १० हजार बुटवल निवासी नर्वेमा रहनुभएक केशव बस्यालले समेत सहयोग गर्नुभएको ढकालले बताउनुभयो ।
डिभाइडरमा लगाइएको बोटबिरुवामा पानी हाल्ने काम समेत दर्शन नेपालले गरिरहेको छ । विगतमा लगाइएको बिरुवामा पानी नपुगेको कारण बिरुवा मर्ने अवस्थामा पुगेको थियो तर उक्त संस्थाले पानीद्वारा सिञ्चित गरेपछि बिरुवाहरूमा समेत राहत पुगेको छ ।
भाटभटेनी सुपर मार्केट विराटनगर अगाडि रहेको सडकको बिचको बिरुवामा पानी हाल्नको लागि उक्त मार्केटसँग “रकम दिन्छौ १० हजार लिटर पानी हामीलाई दिनु” भन्दा पानी किन दिने भन्दै पानी दिन समेत आनाकानी गर्दै अस्वीकार गर्ने काम उक्त मार्केटका परशुराम भट्टराईले गरेको कुरा संस्थाका अध्यक्ष दीपक ढकालले बताउनुभयो ।