विराटनगर । धनपालथान गाउँपालिकाले आ.व. २०८०/०८१ मा किसानलाई उपलब्ध गराउनुपर्ने गहुँको बिउ किसानलाई उपलब्ध गराउन नसक्दा किसानहरूलाई राज्यले विभेद गरेको पाइएको छ ।
गहुँको बिउ खरिद गरी गाउँपालिकालाई उपलब्ध गराउन टेन्डर आह्वान गरेकोमा पहिलो पटक १ जनालाई टेन्डर भरेको र प्रक्रियागत रूपमा समस्या आउने भएपछि दोस्रो पटक टेन्डर आह्वान गरेकोमा पहिलेको ले समेत टेन्डर नभरेको र कसैको पनि टेन्डर नपरेपछि गहुँको बिउ खरिद गर्न नसकिएको धनपालथान गाउँपालिका कृषि शाखाका प्रमुख विवेककुमार मण्डलले बताउनुभयो ।
आ.व. २०८०/०८१ मा गाउँपालिकाले विभिन्न जातको धानको बिउ खरिद गरी किसानलाई ५०% अनुदानमा उपलब्ध गराएको मण्डलले बताउनुभयो ।
राधा-१२ धानको बिउ २ लाख २१ हजारको, स्वर्ण सब धानको बिउ ३ लाख ७५ हजारको, सावा मन्सुली-१ धानको बिउ २२ हजार ५०० को खरिद गरी किसानलाई उपलब्ध गराएको छ । यसै गरी रामधान २९ हजार ६ सयको, लक्ा बासमती ६३ हजार ९ सयको, शुद्धोधन कालनमक (करिया कामत) ८८ हजारको खरिद गरी किसानलाई उपलब्ध गराउने काम भइरहेको छ ।
६ प्रकारको धान ८ लाखमा खरिद गरिएको र ५०% मा किसानलाई उपलब्ध गराइने छ । राधा-१२ प्रतिकिलो ६५/-, स्वर्ण सब प्रतिकिलो ७५/-, सावा मन्सुली प्रतिकिलो ७५/-, रामधान प्रतिकिलो ७४/-, लक्का बासमती प्रतिकिलो १४२/- शुद्धोधन कालानमक १६०/- रुपैयाँ प्रतिकिलोका दरले किसानलाई उपलब्ध गराउने गरी दररेट निर्धारण गरेको छ ।
यसरी निर्धारण गरेको मध्ये आधा रकम किसानबाट लिने नीति गाउँपालिकाको रहेको छ ।