विराटनगर । भन्सार छली गर्ने कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी समेत पाएको सशस्त्र प्रहरी बल APF ले मोरङमा उक्त जिम्मेवारी पूरा गर्न सकेको छैन । उक्त विषयलाई आत्मसात् गर्दै सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय मुख्यालय काठमाडौँले सशस्त्र प्रहरी बल नेपाल APF टङ्कीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्कालाई आफ्नो केन्द्रीय मुख्यालयमा झिकाएको छ ।
सशस्त्र प्रहरी बल टङ्कीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक खड्काले भारतको जोगबनी नाकाको मूल विराटनगर अन्तर्राष्ट्रिय नाका एवम् सोको नजिकबाट अवैध तरिकाले भन्सार छली गर्ने कार्यलाई प्रोत्साहन दिएको, बाटो सहज बनाएको आशङ्कामा केन्द्रीय मुख्यालयमा झिकाएको हो ।
कार्यरत क्षेत्रमा कार्यरत APF को टोलीले चाहेर पनि सामान समाउन सक्ने अवस्था थिएन । आफूभन्दा माथिल्ला तहकाले लाइन दिएको हुँदा सामान समाउन नसकेको कुरा कार्यरत क्षेत्रमा कार्यरत APF ले बताउँदै आएका थिए ।
फिल्डमा खटिएका APF टोलीलाई मात्र दो देखाई आफू चोखो हुने कार्यलाई यस पटक निरुत्साहित हुने काम भएको छ । निज सशस्त्र प्रहरी उपरीक्षक खड्कालाई असार १९ गते बुधवार नै सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय मुख्यालय काठमाडौँमा झिकाएको हो ।
असार १० गते कारोबारीले बुझाउनुपर्ने रकम नबुझाएपछि दुई दिनसम्म बोडर नाका र सो क्षेत्रको छेउछाउमा कडा पारिएको थियो ।
१४ गतेपछि पुनः पुरानै अवस्थामा सामान ओसारपसार गर्नेलाई सहजीकरण गर्ने काम भइरहेको अवस्थामा भन्सार कार्यालय स्वयम्ले सक्रियता देखाई चोरी पैठारी नियन्त्रण गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालयले सशस्त्र प्रहरी उपरीक्षक खड्काले तोकेको लक्ष्यअनुसार चोरी पैठारी गरिएको सामान नियन्त्रण गरी भन्सार कार्यालयमा बुझाउनुपर्नेमा उनीहरूलाई संरक्षण गरेको अनुमान लगाएको कुराले सशस्त्र प्रहरी भित्र चर्चा चलेको छ ।
मोरङको अन्तर्राष्ट्रिय नाका एवम् सो वरिपरि स्थानबाट सामान ओसारपसार भई रहेको कुरालाई मध्यनजर राख्दै बेला बखत समाचार सम्प्रेषण गरिँदै आएको थियो ।
चाइना मार्केट र हुलास चोक क्रीडा स्थल, सशस्त्र प्रहरीले सहजीकरण नगर्दा राजस्वमा कमी, विराटनगर भन्सार कार्यालय र APF मा मतभेद, जोगबनीका व्यापारीलाई हाइसन्चो, केही सशस्त्र प्रहरीद्वारा स्कटिङ आदि शीर्षकका समाचार सम्प्रेषण गरिएको थियो । सीमावर्ती क्षेत्र मोरङ रानी क्षेत्र लगायत अन्य स्थानबाट तस्करी गर्न APF द्वारा सहयोग गरेको आशङ्कामा सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालय काठमाडौँले उक्त कदम चाल्नुलाई सकारात्मक रूपमा लिन थालिएको छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालयले समेत अनुसन्धान गर्दा गल्ती पाएपछि सो कदम चालिएको हुन सक्ने अनुमान सबैले गरेका छन् ।