विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईबाट जोगबनीबाट अवैध तरिकाले भन्सार छलेर सामान ओसारपसार गर्नेलाई निरुत्साहित गर्न दिएको निर्देशनलाई सशस्त्र प्रहरी बल नेपाल विराटनगर रानीको निकायले कार्यान्वयन गर्न सकेको छैन ।

विराटनगर जोगबनी नाकाबाटै सशस्त्र प्रहरी बल रानी विराटनगरका सशस्त्र प्रहरीका गणपति DSP को उपस्थितिमा सोमबार भएको कारोबारीको कार्यशैली हेर्दा कारोबारीलाई सहजीकरण गरेको अनुमान सबैले लगाउन थालेका छन् ।

DSP कै उपस्थितिमा कारोबारीले आफ्नो कारोबार भन्सार नतिरीकन गरेको देख्दा उपस्थित भन्सारका कर्मचारी र अन्य व्यक्तिहरूले उक्त दृश्य हेरेका हेरेकै थिए ।

सशस्त्र प्रहरी बल नेपाल पकली सुनसरी, सशस्त्र प्रहरी बल नेपाल टङ्कीसिनवारी मोरङ र अन्य बि.ओ.पी. का सिभिल (घुमुवा) मा आएकालाई देख्दा डराउने कारोबारीहरू डी.एस.पी. सँग डराएको देखिँदैन ।

आफ्नै अगाडि आफ्नै उपस्थितिमा कारोबारीले भन्सार नतिरीकन सामान लादा त्यसलाई नियन्त्रण गर्नेतर्फ खासै काम नहुँदा अन्य दर्जाका सशस्त्र प्रहरीको मनोबल खस्किँदै गएको छ ।

भन्सार छलेर सामान नेपालतर्फ ल्याउनु कारोबारीको लागि नौलो होइन । उक्त ल्याएको भनिएको सामान के थियो कुन प्रकृतिको थियो सो महत्त्वपूर्ण कुरा हो ।

यसतर्फ नियमनकारी निकायको ध्यान कहिले जाला यो चासोको विषय बनेको छ । के लाइन खुलेकै हो, लाइन खोल्नको लागि गरिएको परीक्षण त होइन यो सबैको लागि चासोको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया