विराटनगर । विराटनगर रानीमा निर्माण भइरहेको आकाशे पुल तथा स्वागत द्वारको निर्माणको काम पछिल्लो समय धमाधम भइरहेको छ ।
ह्याविट्याक–आशीष दीप–जे.भि. भद्रपुर-४ झापाले २०८१/११/२५ गते काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
बिचमै काम गरेर कामप्रति जबाफदेही नभएको कारणले गर्दा सहरी विकास तथा भवन कार्यालय कोसी प्रदेशले बैङ्क खाता रोक्का गर्ने गरी निर्माण कम्पनीका सञ्चालकलाई पत्र पठाएपछि काम द्रुत गतिमा अगाडि बढेको छ ।
उक्त आकाशे पुल तथा स्वागत द्वारको काम सम्पन्न गर्न कोसी प्रदेश सरकारको ७०%, विराटनगर महानगरपालिकाको २५%, उद्योग सङ्गठन मोरङको ५% लगानी रहेको छ ।
उक्त आकाशे पुल तथा स्वागत द्वारको लागत अनुमान ७ करोड ७६ लाख ४८ हजार ८ सय ४२ रुपैयाँ ९९ पैसा मु.अ.कर बाहेक रहेकोमा ६ करोड २५ लाख २४ हजार ९४४ रुपैयाँ ८४ पैसा मु.अ.कर बाहेकमा काम सम्पन्न गर्ने सम्झौता भएको हो । यसमा १ करोड ५३ लाख २४ हजार रकममा ठेक्का लिएको हो ।
उक्त आकाशे पुल तथा स्वागत द्वार निर्माण कार्यलाई गुणस्तरीय बनाउन सहरी विकास तथा भवन कार्यालय कोसी प्रदेशको कार्यालय प्रमुखको कडा निगरानीमा काम भइरहेको छ ।
बेला बेलामा निर्माण भइरहेको स्थानमा आफैँ गई अनुगमन गर्नुका साथै प्रत्यक्ष निगरानी राख्न कार्यालयले आफ्नो तर्फबाट कर्मचारीलाई समेत खटाएको छ ।
दुईतर्फको पिल्लर निर्माण सम्पन्न गर्न फलामको डन्डीलाई जगदेखि नै मजबुत बनाई डन्डीलाई माथि पार्ने काम भइसकेको ५ ।
बिचको भागमा पनि काम भइरहेको छ । बिचको काम भदौको दोस्रो साता भित्रमा सम्पन्न हुने छ र त्यसपछि स्वागत द्वारको स्वरूप दिने प्रकारको काम सुरु हुने कुरा कार्यालयले बताएको छ ।