विराटनगर । जोगबनीबाट भन्सार छलेर सामानलाई पूर्वमा बिक्री वितरण गर्दै आएका समूहलाई पछिल्लो समय निकै तनाव भएको छ । भदौ १ गतेदेखि निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरी सशस्त्र प्रहरी बल नेपाल रानी, विराटनगरसँग सहमति भई काम गरिरहेका समूहलाई भदौ ६ गतेदेखि काम नगर्न भनी सुझाव दिएपछि अहिले केही ठूला कारोबारीहरू अन्योलमा परेका छन् ।
उनीहरूले उक्त निकायको केही व्यक्तिलाई मोटो रकम बुझाए पनि निर्बाध रूपमा काम गर्न सकेका छैनन् । सशस्त्र प्रहरी बल नेपाल टंकीसिनुवारी मोरङले गणबाट १, २ र ३ नम्बर गेटमा सुरक्षाकर्मी खटाइ चोरीपैठारी कार्यलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको छ ।
APF टंकीसिनुवारी मोरङको टोलीले विराटनगर रानी चाइना मार्केटबाट निकालिएको ४ लाख ५० हजार मूल्य बराबरको सामान पक्राउ गरिएको छ । उक्त सामान राति पक्राउ गर्ने काम भएको हो ।
बिहान बेलुका सशस्त्र प्रहरी बल नेपाल रानीको टोली तैनाथ रहने गरेका छन् । चाइना मार्केटमा दिउँसो उक्त निकायकै टोली रहने गरेको छ ।
उक्त सामान चोरी पैठारी गरी सामानहरू ल्याउने व्यक्तिले सक्रियता देखाउने गरेका छन् ।
बिहान बेलुका कुन इन्चार्ज आउँछन् सो को रेकर्ड राखी कारोबारीले काम गर्ने वा नगर्ने भनेर निर्णय गर्ने गरेका छन् ।
भदौ १७ गते आज ६ बजेपछि काम हुन्छ निर्बाध रूपमा भनेर बिहान १० बजेदेखि नै व्यापारी बीच चर्चा चलीरहेको थियो । नभन्दै सोही दिन बेलुका ६ बजेपछि थोरै भए पनि कारोबारीले आफ्नो काम सम्पन्न गरेका थिए ।
अहिले विराटनगर रानी चाइना मार्केटबाट अनुकूल हेरेर दिउँसो सामान विराटनगरतर्फ अटोमा हालेर पठाइन्छ भनेर राति १२ बजेदेखि ३ बजेसम्म निर्बाध रूपमा काम हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
रकम दिएर पनि काम गर्न नपाएकोमा कारोबारी गुनासो गर्ने गरेका छन् ।
बेला-बेलामा सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङको टोली, इलाका प्रहरी कार्यालय रानीको टोलीले निगरानी राख्दै आएको छ भने सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगरका सशस्त्र प्रहरी डिएसपीले निरीक्षण गर्दा कारोबारी भाग्ने गरेका छन् । उहाँ गएपछि फेरि सलबलाउने गरेको पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल भित्रकै केही सुरक्षाकर्मीले कतै कारोबारीलाई संरक्षण दिइरहेका त छैनन् ? यसतर्फ सशस्त्र प्रहरी बल नेपालको कमाण्डले सोच्नुपर्ने बेला आएको छ ।
कारोबारीलाई लाईन कसले दिइरहेको छ यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । सामान ओसार पसार गर्ने समूहले रकम लिने तर लाइन नदिने भनेर आवाज उठाउन थालेका छन् । बिहान र बेलुका कार्यक्षेत्रमा खटिएका सशस्त्र प्रहरीमध्ये केहीको पालामा हामीलाई काम गर्न सजिलो हुन्छ भन्दै कामलाई सफल पार्न कारोबारीहरू लाग्ने गरेका छन् ।
कारोबारीले सामान गन्तव्यमा पुर्याउन मारुति गाडीको समेत प्रयोग गर्ने गरेका छन् । अटो रिक्साबाट पनि सामानहरू गन्तव्यसम्म पुर्याउनुका साथै खानेपानी बोक्ने सवारी साधनलाई समेत प्रयोग गरने गरेका छन् ।