विराटनगर । विराटनगर रानीमा बनाइरहेको आकाशे पुल तथा स्वागत द्वारको निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन ।

साझेदार संस्थाहरू कोसी प्रदेश सरकारको ७०%, विराटनगर महानगरपालिकाको २५% र उद्योग सङ्गठन मोरङको ५% लगानीमा सम्पन्न हुने उक्त आकाशे पुल तथा स्वागत द्वारको लागत अनुमान ७ करोड ७६ लाख ४८ हजार ८४२ रुपैयाँ ९९ पैसा मु.अ.कर बाहेक रहेकोमा ह्यावीट्याट आशिष् दीप जे.भि. भद्रपुर ४ झापाले ६ करोड २५ लाख २४ हजार ९४५ रुपैयाँ ८४ पैसा मु.अ.कर बाहेकमा सम्पन्न गर्ने गरी जिम्मा लिएकोमा अहिलेसम्म उक्त कार्य सम्पन्न हुन सकेको छैन ।

२०८१ फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेमा कोसी प्रदेश सरकारसँग साझेदारी गरिसकेको दुई साझेदार निकायले आफूले उपलब्ध गराउने भनिएको रकम उपलब्ध नगराउँदा काम ढिलाइ हुन गएको छ ।

विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङले आफूले दिने भनेको रकम उपलब्ध गराउन सहरी विकास तथा भवन कार्यालय विराटनगरले आग्रह गरेकोमा उक्त निकायले आफूलाई थाहा छैन भनेर हलुका जवाफ दिँदै आइरहेको कुरा कार्यालय निकट सूत्रले बताएको छ ।

विराटनगर महानगरपालिकाका तत्कालीन नगरप्रमुख भीम पराजुलीसँग आकाशे पुल तथा स्वागत द्वार निर्माणको विषयमा जिज्ञासा राख्दा उक्त आकाशे पुल तथा स्वागत द्वारको लागि आफ्नो कार्यकालमा बोड बैठकबाट २५% लगानी गर्ने निर्णय गरी विराटनगर महानगरपालिकाको नगर परिषद्‌द्वारा समेत पास गरिएको बताउनुभयो ।

नगर परिषद्‌द्वारा पास गरेको रकम महानगरपालिकाले रोक्न मिल्दैन दिनुपर्छ भन्नुहुँदैन सहरी विकास तथा भवन कार्यालय विराटनगरले लिन सक्नुपर्छ भन्नुहुँदै यसमा उद्योग सङ्गठन मोरङले ५% लगानी गर्ने सम्झौता भएको समेत बताउनुभयो ।

सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख सुरेश शाहसँग जिज्ञासा राख्दा आकाशे पुल तथा स्वागत द्वार निर्माण सम्पन्न गर्न आफूले पहल गरेको र महानगरपालिकाद्वारा दिने रकम उपलब्ध गराउन आग्रह गरेकोमा मेयर नागेश कोइरालाले रकम उपलब्ध गराउने आश्वासन दिनुभएको बताउनुभयो ।   

कार्यालयले आग्रह ३ वर्षदेखि गरिरहेको छ तर आश्वासन बाहेक केही पाउन कार्यालयले नसकेको कार्यालय निकट सूत्रले बताएको छ । 

तपाईको प्रतिक्रिया