विराटनगर । विद्यमान व्यवस्थालाई परिवर्तन गरी उन्नत लोकतन्त्रलाई स्थापित गर्नु अहिलेको आवश्यकता हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा भन्नुभएको हो ।
कम्युनिस्टहरू प्रतिगामी हुन् । विश्वबाट असफल भइसकेको विचारलाई नेपालमा जबरजस्ती लाद्न खोज्दै छन् सो नेपाली समाजलाई स्वीकार हुन सक्दैन थापाको भनाइ थियो ।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गर्न हिन्दु राज्य र राजासहितको प्रजातन्त्र, दुई तहको सरकारको स्थापना, देशमा सुशासन कायम, लघुवित्त र सहकारीबाट पीडितलाई न्याय दिनु र व्यवस्था परिवर्तन गर्न ज्येष्ठ १५ गतेदेखि आन्दोलन गरिने बताउनुभयो ।
गणतन्त्र र सङ्घीयताको विरोध गर्नु संविधानको विरोध गर्नु होइन । यही संविधानभित्र रहेर हामीले विरोध गर्दै राजासहितको प्रजातन्त्र, हिन्दु राज्य, दुई तहको सरकार स्थापनामा लागेका छौँ भन्नुहुँदै सरकारमा रहेका केही नेता र गणतन्त्र पक्षधरले हाम्रो आन्दोलनलाई गलत तरिकाले व्याख्या गर्ने गरेका छन् भन्नुभयो ।
नेपाली समाज दुई कित्तामा छ । सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा र अर्को राजासहितको प्रजातन्त्रको पक्षमा भन्नुहुँदै राजासहितको प्रजातन्त्रका लागि यही संविधानलाई प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहने बताउनुभयो ।