विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको बरगाछी-रानी सडक सौन्दर्यीकरण गर्ने कामलाई महानगरपालिकाले परियोजनाकै रूपमा कामलाई अगाडि बढाइरहेको छ ।
बरगाछीदेखि रानी सडक खण्डको बिच भागमा पाइपको सानो पोल गाडेर तारले घेरेर बोटबिरुवा लगाउने काम गरिरहेको छ ।
यो परियोजनामा रहेको खातामा जम्मा गर्ने गरी विराटनगरभित्र रहेका वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व भित्र रही सहयोग गरिरहेका छन् ।
२०८२ साल वैशाख मसान्तसम्म ३३ लाख रुपैयाँ परियोजनाको खातामा रकम जम्मा भइसकेको छ । विराटनगर महानगरपालिकालाई उक्त परियोजनामा रकम दिने वित्तीय सङ्घसंस्थासँग महानगरपालिकाका मेयर नागेश कोइरालाले फोटो खिचाउँदै आउनुभएको छ भने अहिलेसम्म कति खर्च भयो यसतर्फ आधिकारिक रूपमा आफ्नो धारणा बाहिर ल्याउन सकेको छैन ।
२ वर्षअगाडि सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङ सङ्घीय बजेटमा समावेश भएअनुसार विराटनगरको महावीर सडक सौन्दर्यीकरण कार्य सम्पन्न गरेको छ ।
उक्त कार्य उपभोक्ता समितिमार्फत गराएको थियो । मुकुन्द बस्नेतको अध्यक्षतामा गठन भएको उक्त उपभोक्ता समितिले उक्त कार्य गर्न विराटनगर महानगरपालिका वडा नं. ७ र ९ वडा समितिसँग स्थान माग गरेकोमा सुरुमा दिन आनाकानी गरे पनि राजनीतिक दबाबका कारण स्थान दिने काम भएको कुरा त्यस बेला नै निकै चर्चा चलेको थियो ।
विराटनगर महा नगरपालिकाका मेयर नागेश कोइरालाले मुकुन्द बस्नेतलाई बोलाएर महावीर सडक सौन्दर्यीकरण कार्य सम्पन्न भएपछि त्यसको अवस्था के हुने, यो कतिसम्म टिक्छ भन्ने प्रश्न गर्दै अनुमति दिने कुरामा सहमत नभए पनि पछि सहमति जनाएपछि उक्त कामको सुरुवात गरिएको थियो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङको रेखदेखमा सङ्घीय सरकारको लगानी ३७ लाख ५९ हजार ४ सय ५१ रुपैयाँ ९९ पैसा, उपभोक्ता समितिबाट ९ लाख ३९ हजार ८ सय ६३ रुपैयाँ, कन्टिन्जेन्सी रकम १ लाख ५० हजार ३ सय ७८ रुपैयाँ गरी जम्मा ४८ लाख ४९ हजार ६ सय ९३ रुपैयाँ ७ पैसा कुल लागत रहेकोमा काम सम्पन्न भएपछि पनि पटक-पटक बल फ्युज हुने, तारमा समस्या आउने भएपछि सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङले उपभोक्ता समितिलाई भनेर मर्मत गराएको थियो ।
उपभोक्ता समितिको समय सकिएपछि अहिले बल बलेको छैन उक्त स्थान संरक्षणको पर्खाइमा रहेको छ ।
विराटनगर महानगरपालिकाभित्र उसकै स्वीकृतिअनुसार बनाइएको हुँदा त्यसको संरक्षण गर्ने दायित्व महानगरपालिकाको हुन आउँछ – सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङ विराटनगरका सूचना अधिकारी सञ्जयकुमार महतोले बताउनुभयो ।
केन्द्रीय बजेटअनुसार कार्यालयले उपभोक्ता समितिमार्फत काम गराएको हो । समय समाप्त भएपछि त्यसको जिम्मा महानगरपालिकाको हुन आउँछ महतोले बताउनुभयो ।
उक्त स्थानमा ६ वटा सी.सी. क्यामरा र ४३ इन्चको टिभी पनि जडान गरी त्यसको रेखदेखको लागि महानगरपालिकामा राखिएकोमा महावीर सडक सौन्दर्यीकरणतर्फ नकारात्मक कार्य हुँदा पनि महानगरपालिकाले ध्यान दिएको छैन ।
६ वटा सी.सी. क्यामरा र टिभी महानगरमा रहेको र त्यसको अनुगमन गर्ने काम भइरहेको छ । २ वटा सी.सी. क्यामरा बिग्रेको हुँदा मर्मत गर्नेतर्फ काम भइरहेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौड्यालले बताउनुभयो । सी.सी. क्यामराबाट गलत कार्य गर्नेलाई नियन्त्रणमा लिन सकिने हुँदा त्यसको स्वामित्व हाम्रो हो । बल फेर्ने, गमलाको बिरुवाको संरक्षण गर्ने दायित्व हाम्रो होइन पौड्यालको भनाइ रहेको छ ।
४८ लाख ४९ हजारभन्दा बढी योजनाको लागतमा बनेको महावीर सडक सौन्दर्यीकरण कार्य योजना अन्तर्गतको वस्तु संरक्षणको पर्खाइमा रहेको छ ।
राजनीतिक दबाब र प्रभावमा परी योजना बनाउने र काम गर्दा उक्त रकमको दुरुपयोग हुने र बालुवामा पानी हालेसरह हुने देखिन आउँछ ।