विराटनगर । पञ्चायती व्यवस्थामा भन्दा बढी भ्रष्टाचार अहिलेको दलीय गणतान्त्रिक व्यवस्थामा भइरहेको छ ।
आम जनता पार्टीका केन्द्रीय सह अध्यक्ष तिलक थापा मगरले पार्टीद्वारा आयोजित दलीय गणतन्त्र कि जनगणतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
पञ्चायती व्यवस्थामा गलत तरिकाले पैसा कमाएकाले देशमै कृषिमा लगानी, उद्योगमा लगानी गर्दथे । अहिलेकाले विदेशमा पैसा पुर्याउने गरेका हुन् थापा मगरले भन्नुभयो ।
अहिलेको व्यवस्थाभन्दा राजाकै शासनकाल ठिक भनिरहेका छन् । नेपालमा राजा आए पनि बिचौलियाले राजालाई बदनाम गराउँछन् । बिचौलियालाई हालीमुहाली गर्न दिने हो भने राजा आए पनि केही हुँदैन भन्नुहुँदै बिचौलियाबाट मुक्त भएमा राजा आए केही हुन सक्छ उहाँको भनाइ थियो ।
आफू पनि विगतमा संविधान सभाको सदस्य भएको हुँदा केही बुझ्ने मौका पाए । २०४६ पछि सरकारमा रहेका र लुट्न पल्केकाकै बाहुल्यता थियो । उनीहरूले जनताको अनुकूल होइन आफ्नो अनुकूल संविधान बनाए भन्नुहुँदै गणतान्त्रिक व्यवस्था नै खराब बनाइयो । यो दलीय गणतन्त्र व्यवस्था नै मुलुकको लागि हितकर छैन यसको अन्त गरी जनगणतन्त्र ल्याउनुपर्छ थापा मगरको भनाइ थियो ।
गणतन्त्र आएपछि देशको अवस्था नाजुक बनेको छ । हरेक तहमा दलीय भागबन्डा छ । यसलाई जीवन्त राख्न दलीय गणतन्त्रवादी लागि परेका छन् । उनीहरूको विरुद्ध एक हुनुपर्छ थापा मगरको भनाइ थियो ।