विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर बासीलाई सहज हुने गरी सञ्चालनमा ल्याएको एम्बुलेन्सद्वारा विराटनगर बासीलाई सेवा दिँदै आइरहेको छ ।

महानगरपालिकाद्वारा ३ वटा एम्बुलेन्स र एक शव वाहन सञ्चालन ल्याएको छ ।

विराटनगरमा रहेको सरकारी अस्पताल एवम् निजी अस्पतालसम्म उपचारको लागि बिरामीलाई पुर्‍याउने उद्देश्यका साध सञ्चालनमा ल्याइएको निःशुल्क एम्बुलेन्स सेवाको विषयमा पर्याप्त प्रचारप्रसार नहुँदा विराटनगर बासीले पाउनुपर्ने निःशुल्क सेवा पाउन सकेका छैनन् ।

नेपाल टेलिकम र एनसेलले विभिन्न चाडपर्वमा शुभकामना रिङ टोन सहित सन्देश प्रवाह गर्ने गरेको छ ।

केही महिनाको लागि निःशुल्क एम्बुलेन्सको विषयमा जानकारी गराउनेतर्फ कदम चालेमा विराटनगर बासीको ध्यान यसतर्फ केन्द्रित हुने थियो तर यसतर्फ ध्यान दिन सकेको छैन ।

पर्याप्त प्रचार प्रसार नभए पनि महानगरपालिकाद्वारा सञ्चालनमा आएको एम्बुलेन्सबाट विराटनगरका बिरामीले सेवा लिइरहेका छन् ।

२ वटा एम्बुलेन्सबाट श्रावणदेखि चैत्रसम्म ३ सय ९९ जनाले सेवा लिएका छन् ।

महानगरपालिकाले निःशुल्क बाल स्वास्थ्य एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । यसमा गर्भवती महिलालाई विशेष गरी लक्षित गरिएको थियो । यसले २०१ जनालाई सेवा दिएको थियो ।

बाल स्वास्थ्य एम्बुलेन्स सञ्चालन र व्यवस्थापनको लागि एम्बुलेन्स एसोसिएसनलाई जिम्मा दिएको कुरा स्वास्थ्य महाशाखाद्वारा बताइएको छ । अनावश्यक तालिम, सेमिनारमा खर्च गर्नुको बदला एम्बुलेन्सलाई महानगरपालिकाले सञ्चालनमा ल्याउनु जरुरी छ ।

यसरी भाडामा एम्बुलेन्स दिएपछि उक्त एम्बुलेन्सले बिरामीसँग रकम नउठाउला भन्न सकिँदैन । यसतर्फ ध्यान दिनु जरुरी छ ।

निःशुल्क शव वाहनले ३ सय ९ पटक शवलाई गाडीमा हालेको कुरा महाशाखाले बताएको छ ।

तपाईको प्रतिक्रिया