विराटनगर । स्वास्थ्य सेवा प्रदान गर्ने नाममा मोरङको विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजले अघोषित रूपमा बिरामीका आफन्तमाथि आर्थिक शोषण गर्दै आएको खुलासा भएको छ। बिरामी ल्याउने सवारी साधनका चालकहरूलाई अस्पताल प्रशासन र सुरक्षा गार्डबाट विशेष प्राथमिकता दिइने र उनीहरूलाई कमिसन समेत प्रदान गरिने गरेको तथ्य बाहिर आएको छ।
स्रोतका अनुसार, बिरामी लिएर आउने एम्बुलेन्स वा अन्य सवारी साधनका चालकहरूलाई अस्पताल प्रवेशद्वारमै विशेष व्यवहार गरिन्छ। नोबेल अस्पतालको आपत्कालीन कक्षमा बिरामी भर्ना गर्दा गार्डले सवारी चालकसँग “कहाँबाट ल्याएको?” भनेर सोध्ने मात्र होइन, त्यसको रेकर्ड पनि राख्ने गरेका छन् । केही चालकहरूले त आफूले ल्याएको बिरामीको विवरण मोबाइलमा फोटो खिचेर प्रमाणको रूपमा राख्ने गरेका छन्।
अस्पतालभित्र चलिरहेको कमिसनको खेल अझै गम्भीर छ। स्रोतहरूका अनुसार, बिरामीको अवस्था अनुसार सवारी चालकहरूलाई उल्लेखनीय रकम प्रदान गरिन्छ- जस्तै, गम्भीर अवस्थामा रहेका बिरामी (आइसियुमा भर्ना हुने) लाई ल्याएबापत २५ हजार रुपैयाँसम्म, दुर्घटनामा परेका बिरामी ल्याएमा १५ हजार, र अन्य सामान्य अवस्थामा १० हजार रुपैयाँसम्म प्रदान गरिन्छ।
यो प्रवृत्तिले स्वास्थ्य सेवामा आर्थिक कारोबार र दलाल प्रवृत्तिलाई बढवा दिएको देखिन्छ। रोगीलाई अस्पताल ल्याउने नाममा गरिने यस्तो ‘कमिसन संस्कृति’ले न त बिरामीको हितमा काम गर्छ, न नै स्वास्थ्य सेवा नैतिक मान्यतामा आधारित रहन्छ।
यस विषयमा नोबेल मेडिकल कलेजका सूचना अधिकारी नवीन दाहालसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन।