विराटनगर । २०५४ सालमा स्थापना भएको मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) मोरङले मोरङमा रहेका अटोमोबाइल्स व्यवसायीको पक्षमा निरन्तर रूपमा काम गर्दै आएको छ ।
यसले आफ्नो १६औँ वार्षिक सभा एवम् ८औँ अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।
आठौँ अधिवेशनको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको छ ।
उक्त अधिवेशनको उद्घाटन गर्दै मन्त्री भण्डारीले यो संस्थाले गर्दै आएको कार्यप्रति सराहना व्यक्त गर्दै नयाँ बन्ने कार्यसमितिलाई समेत शुभकामना दिनुभएको थियो ।
उक्त उद्घाटन कार्यक्रममा NADA का केन्द्रीय महासचिव सुरेन्द्रकुमार उप्रेती, CNI का केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नवीन रिजाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्य, मोरङ व्यापार उद्योग सङ्घका अनुप राठी, मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा NADA का केन्द्रीय सदस्य तोया खनाल, NADA का मधेस प्रदेश अध्यक्ष केदार अग्रवालले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।
यसै गरी चितवन अटोमोबाइल्सका अध्यक्ष कूलबहादुर क्षेत्री, हेटौडा अटोमोबाइल्सका अध्यक्ष ऋषिकुमार ढकालले समेत बोल्नुभएको थियो ।
यसरी बोल्नु हुने वक्ताहरूले समस्त देशको आर्थिक अवस्था जर्जर बन्दै गएको हुँदा यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरा माथि जोड दिनुभएको थियो ।
उक्त कार्यक्रममा NADA का केन्द्रीय सह कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय सदस्य प्रकाश कपुरी नारायण पौड्याल, दीपेन्द्रकुमार मिश्र समेतका उपस्थिति थियो ।
उद्घाटनपछि भएको मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन मोरङको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ ।
NADA का मोरङ अध्यक्ष सञ्जय श्रेष्ठको सभापतित्वमा भएको उक्त बन्द सत्रले डिल्लीराम आचार्य (दिलु)को अध्यक्षतामा चयन गरेको छ ।
मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन मोरङको उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा जीवन पोखरेल, सहसचिवमा रुपेश बराल, कोषाध्यक्षमा रवि अग्रवाल रहनुभएको छ ।
उक्त कार्यसमितिका सदस्यमा उत्कृष्ट भट्टराई, गङ्गा यादव, राजेशकुमार भगत, प्रतीक थापा, शशीमोहन सिन्हा निर्वाचित हुनुभएको छ ।
सङ्गठनको विधानअनुसार निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठ कार्यसमिति सदस्यमा रहनुभएको छ भने समितिले मनोज चौधरी र निसाद अहमदलाई सदस्यमा मनोनीत गरेको छ ।