विराटनगर । विराटनगरमा पछिल्लो समय सामान ओसार पसार गर्ने समूहले विद्यालय बसलाई समेत प्रयोग गर्ने गरेका छन् ।

विद्यालयको बसबाट तस्करी गरिएको सामानहरू ल्याइन्छ भनेर समाचार बारम्बार आएपछि विद्यालयको बसमाथि इलाका प्रहरी कार्यालय रानीले निगरानी बढाएको थियो ।

निगरानी राखेकै कारण असार १ गते अन्दाजी ५.४० बजे विराटनगर-१५ स्थित बाबा सिनेमा हल छेउ राखिएको बसलाई शङ्का लागि चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाइ राखिएको ३८७ पिस कुर्थी इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईको कमान्डमा खटिएको टोलीले प्र. १-०२-००२ ख ०००९ नम्बरको बस, सामान र चालक सहित एक व्यक्तिलाई नियन्त्रणमा दिएको छ ।

उक्त बस कान्तिपुर कलेजको रहेको र चालक गोपाल रेग्मी र अर्को व्यक्ति मङ्गला यादवलाई नियन्त्रणमा लिएको छ ।

कुर्थीको १ लाख १६ हजार, बस ५ लाख गरी जम्मा ६ लाख १६ हजारको रहेको र उक्त सामान र बस आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको कुरा जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

उक्त बसका चालकले आफूहरूले ३।४ वर्षदेखि कपडा पनि बोक्ने काम गरेको कुरा प्रहरीलाई बताएका छन् ।

कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालसँग यस विषयमा जिज्ञासा राख्दा “उक्त पक्राउ परेको भनिएको बस कान्तिपुर कलेजको निजी होइन उक्त बसका धनी गोपाल रेग्मी को हो, कलेजले उक्त बस भाडामा लिई विद्यार्थीलाई ल्याउने र पुर्‍याउने गरेको मात्र हो” भन्नुभयो ।

भाडामा लिएपछि सम्पूर्ण दायित्व कलेजको हो । यदि उक्त बसमा कलेजका कुनै विद्यार्थी केही गरी मुर्छा भएमा के त्यसको जिम्मा कसले लिने यसतर्फ अब अभिभावकले सोच्ने बेला आएको छ ।

कान्तिपुर कलेज लेखिएको बस वास्तवमा कलेजको हो वा भाडाको हो यो पनि अभिभावकले खोज्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया