विराटनगर । नेपाल भारतस्थित जोगबनी नाका एवम् सो आसपासको स्थानबाट हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न जनशक्तिको अभाव भएको महसुस गर्न थालिएको छ ।
पहिलो लाइनमा सशस्त्र प्रहरीको टोली तैनाथ रहे पनि जनशक्ति कम भएको हुँदा केही स्थानबाट सामान ओसारपसार गर्ने समूह वा व्यक्तिले चोरी पैठारी गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।
सामान ओसार गर्ने समूहले विराटनगरको दरैयाको उखुबारी, विराटनगर रानीको मटेरुवा र स्लामापुरबाट साँझ र बिहानीपख निर्बाध रूपमा सामान जोगबनीबाट नेपाल ल्याउने गरेको बताइन्छ । सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी. खोक्साको मातहतमा रहेको स्लामापुरबाट सामान ओसारपसार भइरहेको कुरा सशस्त्र प्रहरी बल नेपाल खोक्साका जिम्मेवार व्यक्तिले अस्वीकार गर्न सक्नुभएको छैन ।
हामीसँग जनशक्ति कम छ, दशगजा नजिक छ, थोरै जनशक्तिको कारण अवैध कारोबारलाई पूर्ण रूपमा कम गर्न सकिएको छ भन्ने एक सशस्त्र प्रहरीले बताउनुभएको छ ।
थोरै जनशक्तिको कारण हामीले गर्न सक्ने काम गरेका छौँ, उहाँको भनाइ रहेको छ ।
यति हुँदाहुँदै पनि सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरले चोरी पैठारी नियन्त्रण गर्नेतर्फ सक्रियता देखाउँदै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगरले मङ्सिर १५ गतेसम्म १४ लाख मूल्य बराबरको सामान पक्राउ गरी आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । यसरी बुझाएको सामानमध्ये कपडा, खाद्यान्न लगायत रहेको छ ।
यसलाई हेर्दा अहिलेसम्म सशस्त्र प्रहरीको टोलीले गरेको कामलाई सकारात्मक रूपमा लिनुपर्छ ।
चोरी पैठारी कम गर्न सशस्त्र प्रहरीको जनशक्तिमा वृद्धि गर्नुपर्छ । सामान ओसारपसार गर्ने समूह वा व्यक्तिले सशस्त्र प्रहरी बलका कार्यक्षेत्रमा खटिएको केही इन्चार्जलाई दिउँसो तपाईँको राति हाम्रो भनेर भन्ने गरेको कुराको चर्चा सशस्त्र प्रहरी वृत्तमा चल्न थालेको छ ।