विराटनगर । खुला सिमानाको कारण अवैध रूपमा हुने चोरी-पैठारीको घटना क्रमिक रूपले बढिरहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा भन्सार छलेर अवैध रूपमा ल्याइएको सामानहरू विराटनगर भन्सार कार्यालयमा बुझाई दर्ता भई मुद्दा प्रक्रियामा जाने क्रम आ.व. २०८०/०८१ को तुलनामा भन्दा कम रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा भन्सार कार्यालय सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीद्वारा नियन्त्रण लिएको सामान बुझाई भन्सार कार्यालयमा मुद्दाको रूपमा १२ सय भन्दा बढी थियो भने आ.व. २०८१/०८२ मा मुद्दा सङ्ख्या ८७५ रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क र २०८१/०८२ को तथ्याङ्क हेर्दा चोरी पैठारीको कार्यमा कमी आएको देखिए पनि सो कुरा मान्न भन्सार प्रशासन तयार देखिँदैन ।
चोरी पैठारीमा कार्य आएको हो भने भन्सार राजस्वमा वृद्धि हुनुपर्नेमा वृद्धि हुन सकेको छैन । यसलाई हेर्दा चोरी पैठारी सम्बन्धी कार्यहरू भइरहेकै छ ।
विराटनगरमा मात्र होइन पूर्वमै पाइएको काजु, पेय पदार्थ, केराउ, रजनीगन्धा, हाडे बदाम, सुटिङसटिङका कपडाहरू, डेरिमिल्क चकलेट, पेट्रोल, सर्फ लगायत अन्य सामान भन्सार बिन्दुबाट प्राय आएको छैन । यी सामानहरू कसरी भित्रिएका छन् त यसतर्फ भन्सार प्रशासन, राजस्व चुहावट समिति मोरङ सुरक्षा निकायको तीन वटै अङ्गहरूले घनिभूत रूपमा छलफल गर्नुपर्ने देखिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा चोरी पैठारी सम्बन्धी मुद्दा विराटनगर भन्सार कार्यालयमा ८७५ वटा दर्ता भएको थियो । यसरी दर्ता भएको मुद्दामध्ये सशस्त्र प्रहरी बल नेपालबाट ५९१ वटा नेपाल प्रहरीबाट २७५ र भन्सार कार्यालय विराटनगरबाट २९ वटा मुद्दा दर्ता भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको तर्फबाट दर्ता गर्दा भएको ५९१ वटा मुद्दाको प्रतिवेदन मूल्य ४ करोड ९४ लाख ४२ हजार नेपाल प्रहरीतर्फबाट दर्ता भएको २७५ वटा मुद्दाको प्रतिवेदन मूल्य २ करोड ६४ लाख र भन्सार कार्यालयबाट मुद्दा २९ वटाको प्रतिवेदन मूल्य ११ लाख ७३ हजार रहेको विराटनगर भन्सार कार्यालयले बताएको छ ।
यसरी दर्ता भएका मुद्दामध्ये ५२८ वटा मुद्दामार्फत ल्याएको सामानहरू लिलाम भएको र उक्त लिलाम भएपछि लिलाम भएको सामानबाट १ करोड ७८ लाख ६२ हजार राजस्व असुल भएको भन्सार कार्यालय विराटनगरले बताएको छ ।
यसरी दर्ता भएको मुद्दामध्ये सशस्त्र प्रहरी बलतर्फको ३३६ वटा नेपाल प्रहरीको तर्फको १६८ वटा र भन्सार कार्यालयतर्फको २४ वटा मुद्दा अन्तर्गतको सामानहरू लिलाम भएको छ ।
विराटनगर रानी प्रवेश गर्ने जोगबनी नाकाबाट सामान ल्याउने यात्रुको हकमा सामानको प्रकृति र परिणाम हेरी राजस्व लिने काम भएमा राजस्व असुलीतर्फ वृद्धि हुने थियो ।
जोगबनीबाट कसैले फ्रिज १/२ वटा एसी १/२ वटा ल्याउँदा मुख्य नाकाबाट ल्याउँदा समय लाग्ने र धेरै झमेला हुने कुरालाई ध्यानमा राखी परिणाम हेरी कति परिणामसम्मको राजस्व लिने भनेर ठोस नीति बनाउनु जरुरी छ ।
जोगबनीबाट किनेर ल्याइएको समानको राजस्व यात्रु शाखाबाट नलिए पनि उक्त सामान कुनै माध्यमबाट विराटनगर पुग्ने गरेको छ । यसतर्फ नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।
तर पछिल्लो समय कारोबार गर्नेहरू आफू छायामा बसेर नयाँ मानिसलाई प्रयोग गर्ने गरेका छन् । नयाँ मानिसले ४/५ पिस कपडा ल्याउँछन् उनीहरूले कारोबारीलाई दिने गरेका छन् ।
यसलाई हेर्दा सर्वसाधारणलाई दुःख दिएको आरोप समेत लाग्ने गरेको छ ।
कारोबारीले नयाँ मानिसलाई साथै केही आफूलाई प्रेस बताउने व्यक्तिलाई समेत प्रयोग गर्ने गरेको पाइएको छ ।
सञ्चारकर्मी भन्ने बित्तिकै उसले बोकेको झोला चेक गर्ने हिम्मत सुरक्षाकर्मीले राखेको पाइँदैन । जसले मेरो सामान भन्दछन् उनलाई सोधेमा कति मूल्य पर्यो थाहा हुँदैन ।
यसरी सशस्त्रले सामान समाउने बित्तिकै कारोबारीले केही सञ्चारकर्मीलाई फोन गर्ने र निजले सिफारिस गर्ने गरेका छन् ।
यसलाई सशस्त्र प्रहरी बल नेपालका जिम्मेवार व्यक्तिले स्वीकार गर्दछन् र आफूलाई सञ्चारकर्मी बताउनेले सिफारिस गरे पनि सामान नछोडेको दाबी गर्दै आउनुभएको छ ।