विराटनगर । विराटनगर भन्सार कार्यालय रानी (ICP) विराटनगरबाट छाला र छुर्पी निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ११४८६९ वर्ग मिटर छाला निर्यात भएकोमा आ.व. २०८१/०८२ मा २२९५५२ वर्ग मिटर छाला निर्यात भएको छ भने २२६० केजी छुर्पी समेत निर्यात भएको हो ।
पशु क्वारेन्टाइन कार्यालय विराटनगरका वरिष्ठ पशु चिकित्सक डा. विदुरप्रसाद गौतमले बताउनुभएको छ ।
विराटनगर भन्सार कार्यालय रानी (ICP) विराटनगरबाट आर्थिक वर्ष २०८०/०८१ मा ६४२.१८१ मेट्रिक टन खाने माछा आयात भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ४८.३ मेट्रिक टन माछा आयात भएको छ । यसलाई आधार मान्ने हो भने माछामा कोसी प्रदेश आत्मनिर्भर भएको भनेर सहज अनुमान लगाउन सकिन्छ ।
माछा आयात गर्दा पशु क्वारेन्टाइन कार्यालय विराटनगरले माछाको परीक्षण गरी प्रमाणित गर्दै आयात गर्न मिल्छ भनेपछि आयात हुने गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा माछाको दाना ६१७.२३७ मेट्रिक टन, फिड सप्लिमेन्ट ६५०९.१७१ मेट्रिक टन र क्याटल फिड ८५ मेट्रिक टन आयात भएकोमा आ.व. २०८१/०८२ मा ३२९९.४४६ मेट्रिक टन फिड सप्लिमेन्ट, ९२५.३७५ मेट्रिक टन फिस र ९६.२५ मेट्रिक टन क्याटन फिड जाँच गरी आयातमा सहजीकरण गर्ने काम कार्यालयबाट भएको छ ।
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले आ.ब. २०८१/०८२ मा माछा १०० केजी, गाई १४ वटा, राँगा ३ वटा, बाछाबाछी ११ वटा, बहर ११६ वटा, पाडा १, बङ्गुर १४१, घोङ्गी ९०२ केजीको स्वास्थ्य परीक्षण समेत गरेको थियो । सोही अवधिमा माछा २१६७ के.जी., बङ्गुरको मासु २५० के.जी., गाईको मासु ३० के.जी., मुङ्ग्री माछाको भुरा ३० के.जी., बाख्राको छाला १०० के.जी., घुङ्गी ७२० के.जी., पशुको दाना १५० के.जी. नष्ट गर्ने काम कार्यालयबाट भएको बताइन्छ ।
यसरी नै ब्रोइलर कुखुराको मासु ३२५२ के.जी., ब्रोइलर कुखुरा २९२ वटा, सिलाड माछा १०० के.जी., सेतो अण्डा ४३ काटुन्, हाँसको चल्ला ६०० वटा, माछाको सिध्रा ६४० के.जी. नष्ट गरिएको छ ।
यसरी नष्ट गरिएको वस्तुहरू विभिन्न समयमा सुरक्षा निकाय र कार्यालयको समन्वयमा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
पशुपन्छी एवम् पशुजन्य वस्तुको निगरानी राखी उद्देश्य पूरा गर्न पशु ढुवानी मापदण्डलाई प्रभावकारी कार्यान्वयनका लागि पशु क्यारेन्टाइन चेकपोस्ट भाण्टाबारी सुनसरी प्लेटफर्म सहितको कार्यालय भवन आवश्यक रहेको कुरालाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ ।
कोसी प्रदेश सरकारले सञ्चालनमा ल्याएको खोरेत रोग नियन्त्रणमा आयोजनाको पूर्ण कार्यान्वयनको लागि भण्टाबारीलाई थप सुदृढ गर्नुपर्ने र सीमा चेकपोस्ट रहेकोले सुनसरीमा रहेको चेकपोस्टलाई आन्तरिक चेकपोस्टको अधिकारसहित कार्यालय भवनको आवश्यक रहेको छ । सुनसरी पनि भन्सार कार्यालय रहेको र उक्त भन्सार कार्यालयबाट प्रज्ञापन पत्र जारी गर्दै भन्सार जाँच पास हुने गरेको हुँदा पशुपन्छी एवम् पशुजन्य वस्तु आयात गर्ने आयातकर्तालाई सहजीकरण गर्ने भण्टाबारीमा अधिकारसहित पशु क्वारेन्टाइन कार्यालयको आवश्यकता रहेको छ ।