विराटनगर । नेपालले सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको अन्त गर्ने लक्ष्य राखेको छ ।

उक्त लक्ष्य अनुसार जनतामा जनचेतना फैलाउने र कुपोषणबाट नेपालका बालबालिकालाई मुक्त गर्ने तर्फ सरकारले आवश्यक कदम नचालेसम्म क्षयरोगका बिरामीहरू देखिने क्रम जारी रहने देखिन्छ ।

सामान्य क्षयरोग लागेका बिरामीले औषधि नियमित सेवा गरेपछि केही हदसम्म कम हुन सक्छ तर जटिल क्षयरोग लागेका बिरामीबाट उच्च सतर्कता अपनाउनु जरुरी छ । क्षयरोगको किटाणु हाम्रो शरीरमा छ तर हाम्रो रोग प्रतिरोधात्मक शक्ति हाम्रो शरीरमा भएको कारण उक्त किटाणुले हामीलाई केही गर्न सक्दैन ।

जुन दिन क्षयरोगका किटाणुको सङ्ख्या हाम्रो शरीरमा बढ्छ तब हामी क्षयरोगी हुन सक्छौँ ।

सरकारले जति नै प्रतिकूलता जनाए पनि उक्त प्रतिबद्धता पूरा गर्न सक्दैन । कोशी प्रदेशकै जस्तो टि.वि.का बिरामी अन्य प्रदेशमा नहोलान् भन्न सकिँदैन । कोशी प्रदेशलाई विश्लेषण गर्दा कोशी प्रदेशमा क्षयरोगीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ ।

यसले गर्दा क्षयरोगी (टि.वि.) को सङ्ख्या बढेपछि यसको पहिचान गर्दै रोगको निदान गर्नेतर्फ क्षयरोग (टि.वि.) अस्पताल विराटनगरले सक्रियता देखाउँदै आएको छ ।

नेपाल क्षयरोग निवारण संस्था मोरङद्वारा सञ्चालनमा ल्याएको अस्पतालमा आर्थिक वर्ष २०८२/२०८३ को पहिलो चौमासिकमा ओपिडीमा ३४७४ जना शङ्कास्पद बिरामीले उपचारको लागि नाम दर्ता गराएका थिए ।

उक्त बिरामीमध्ये २६२५ खकार परीक्षण, एक्से ९९०, ल्याव परीक्षण ९०१ को गरेकोमा ४६ जनाले ड्रस्ट सेन्टरमा औषधि लिइरहेका छन् ।

दोस्रो चौमासिकमा ३६४१ ले उपचारको लागि नाम दर्ता गराएका थिए भने उक्त बिरामीमध्ये खकार परीक्षण ३६४१, एक्से २३५५, ल्याव परीक्षण ९४० को गर्दा ड्रस्ट सेन्टरबाट औषधि लिनेको सङ्ख्या ६३ रहेको छ । यसैगरी तेस्रो चौमासिकमा उपचार गर्ने गरी नाम लेखाउने बिरामी सङ्ख्या ओपिडिमा ३७० रहेको छ ।

खकार परीक्षण ४०७०, एक्से ७००, ल्याव परीक्षण ११४४ रहेकामा ३७ जनाले औषधि खाइरहेका छन् ।

यसलाई हेर्दा ओपीडीमा बिरामी दर्ता सङ्ख्या १०८१५ रहेको छ भने १४६ जनालाई टि.वी. रोगको औषधि खाइरहेको पाइएको छ ।

यो आ.व.मा टि.वी अस्पतालमा आई जचाउने बिरामीको सङ्ख्यालाई हेर्दा बिरामीको सङ्ख्या हेर्दा टिवीको बिरामी बढिरहेको पाइएको छ ।

१५ सैय्याको यो अस्पतालमा भर्ना भई उपचार गर्न आउने बिरामीमध्ये उपचारमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी पनि थप जोखिममा पर्ने देखिन्छ ।

अस्पतालमा भर्ना भई उपचार गर्ने बिरामी पनि रहेका छन् । नर्मल टिवी लागेका बिरामीको निको हुन्जेल औपधिमा मात्र ५ हजार खर्च लाग्छ, जटिल बिरामीको हकमा एक बिरामी बराबर ७ लाखसम्म खर्च लाग्ने बताइन्छ । यो उपचार निःशुल्क हुने गरेको बताइन्छ । अस्पतालमा MDR भएको बिरामी पनि भर्ना भएको बताइन्छ ।

जिल्ला कारागार मोरङमा रहेको बन्दी कैदीमध्ये केही कैदीहरू टिवी रोगबाट पिडीत भएको कारण अस्पतालमै बसेर उपचार गराइरहेको बताइन्छ ।

पहिलो पटक ओपिडी शुल्क ४००/- लाग्ने छ । उक्त रकम तिर्न नसक्ने बिरामीलाई निःशुल्क गर्ने काम भइरहेको अस्पतालले बताएको छ ।

प्रत्येक वर्ष एक दिन विश्व क्षयरोग नियन्त्रण दिवस मनाइरहेका हुन्छौँ तर क्षयरोग नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्न अपनाउनुपर्ने तरिकाको बारेमा र क्षयरोग लागेका बिरामीले अरूलाई उक्त रोग नसरोस् भनेर अपनाउनुपर्ने तरिकाको बारेमा शिक्षा दिन अहिले पनि आवश्यक छ ।

यस प्रकारको रोगको बारेमा तहगत विद्यालयमै पाठ्यपुस्तकमा समावेश गरेर अगाडि बढेमा रोग नियन्त्रण हुन सक्ने देखिन्छ । केही हदसम्म भए पनि यसतर्फ सरोकारवाला निकायले आफूभन्दा माथिल्लो निकायलाई दबाब दिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया