विराटनगर । खुला सिमानाको कारण हुँदै आएको अवैध तरिकाले गरिने ओसारपसार कार्यमा खासै कमी आएको छैन ।

भारतसँग जोडिएको क्षेत्रबाट हुने अबैध कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूलाई केही सञ्चारकर्मी बताउने व्यक्ति र राजनीतिकर्मी, केही स्थानीय जनप्रतिनिधिहरूको संलग्नता रहेको पाइन्छ ।

सीमा सुरक्षा एवम् चोरीपैठारी काम गर्न खटिएका सशस्त्र प्रहरीद्वारा सामान समाएपछि केही सञ्चारकर्मी र केही स्थानीय जनप्रतिनिधि गई सिफारिस गर्ने र सामान छुटाउने काम गरिरहेको कुरालाई स्वयम् सशस्त्र प्रहरीकै केही जिम्मेवार व्यक्तिले बताउँदै आएका छन् ।

जसको सिफारिस गरिन्छ उनीहरू कारोबारी हुन् । कहिलेकाहीँ घरायसी पनि सामान नियन्त्रणमा लिइन्छ बुझेर घरायसी सामान छोडिदिने गरे पनि बढी सिफारिस कारोबारी गर्नेको पक्षमा आउने गरेका छन् ।

यो रोगको सिकार सशस्त्र प्रहरी मात्र होइन नेपाल प्रहरी पनि रहेका छन् । यो रोग मोरङमा मात्र होइन भारतसँग सीमा जोडिएको हरेक जिल्लामा रहेको पाइन्छ ।

अहिले निर्वाध रूपमा हुक्कामा हालिने फ्लेवर भारतको जोगबनी नाका र उक्त नाकाको छेउछाउ क्षेत्रबाट विराटनगरतर्फ आइरहेको छ । फ्लेवर पूर्वमा सञ्चालित क्याफेहरूमा पाइन्छ ।

अहिले केही युवायुवतीहरू उक्त क्याफेमा जाने र उक्त फ्लेवरलाई हुक्कामा हालेर खाने गरेका छन् । केहीले चुरोट, गाँजामा मिसाएर पनि खाने गरेका छन् । यसले गर्दा नेपाली युवाहरू कुलतको सिकार बनेका छन् ।

पूर्वतर्फ उक्त फ्लेवर विराटनगर रानी जुटमिल दक्षिणबाट निर्वाध रूपमा निकालिने गरेको बताइन्छ ।

विराटनगर हुलासचोकदेखि पश्चिम गएपछि १०० मिटर नपुग्दै मन्दिर आउँछ त्यसकै दक्षिणतर्फ भत्केको दिवाल छ । उक्त बाटोबाट ल्याएर सिटीमा हालेर उक्त फ्लेवर विराटनगर हुँदै पूर्वको विभिन्न सहरमा पुर्‍याइने गरेको बताइन्छ । यसलाई निरन्तरता दिने काम प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि हुने गरेको चर्चा चलेको छ ।

यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । साथै प्रोटिन पनि भित्रिने क्रम पछिल्लो समय जारी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया