विराटनगर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कार्कीको समयमा भएको विकासलाई कोसी प्रदेशका केही आम नागरिकहरूले अब देशमा विकासको मूल फुट्यो भनेर भन्न थालेका छन् ।

नेकपा एमाले र नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले गरेको प्रगतिलाई हेर्दा कोसी प्रदेशले अन्य प्रदेशलाई थाङ्नामा सुताउनेसम्म काम गरेको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । २०७५ साल असोज २६ गते स्थापना भएको कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयबाट भएको कामलाई हेर्दा प्रदेश सरकारले विकासमा निकै फड्को मारेको महसुस केही आम नागरिकले गरेका छन् ।

यस निर्देशनालयको उद्देश्य प्रदेश लोक मार्ग प्रणालीको निर्माण, विस्तार, मर्मत, सम्भार गर्ने, सबै पालिकालाई गुणस्तरीय सर्वयाम सडकसँग आबद्ध गर्ने झोलुङ्गे पुल र सडक पुल निर्माण १३७ वटै पालिकामा झोलुङ्गे पुल निर्माणमा प्राविधिक सहयोग गर्ने लगायत रहेको छ ।

कार्यालय स्थापना भएको १ वर्षपछि गरिएको सम्झौता अनुसारको पुलको काम आर्थिक वर्ष २०८१/०८२ मा भौतिक प्रगति १५% मात्र भएकोमा यसलाई विकासले तीव्र गति लिएको भनेर सरकारमा सहभागी दल, तिनका नेताहरूले भन्न पछि पर्दैनन् ।

भोजपुरमा रहेको दूधकोशी नदी पुल चुहारको लम्बाइ ९० मिटर रहेको छ । ९० मिटर लम्बाइको पुल बनाउन २१ करोड २३ लाख खर्च हुने गरी २०७६/६/२१ गते सम्झौता भई २०८३/०३/१३ मा सम्पन्न गरिसक्नुपर्ने भनी किटान गरिएकोमा अहिलेसम्म १५% मात्र काम भएको कुरा पूर्वाधार विकास निर्देशनालय कोसी प्रदेशका निमित्त निर्देशक ई. जितेन्द्रकुमार कर्णले वार्षिक प्रगतिको समीक्षा गर्दा सार्वजनिक गरिसक्नुभएको छ ।

अब पुन काम २०८२ श्रावणदेखि २०८३ ज्येष्ठसम्म मात्र गर्ने छ, निर्माण कम्पनीले के ८५% काम १५ महिनामा सम्पन्न गर्ने छ भनेर भन्न सकिने आधार छैन ।

तेह्रथुममा रहेको तमोर खोला पुल हातपारा घाट जसको लम्बाइ १४० मिटर छ, उक्त पुल २०८३/८/११ गते सम्पन्न गरी सक्नुपर्नेछ । यो पुल सम्पन्न गर्न २२ करोड ३७ लाख लाग्नेछ । २०७६/६/२७ गते सम्झौता भएकोमा अहिलेसम्म ४२% सम्म मात्र भौतिक प्रगति भएको छ । ६ महिनामा ४२% काम भएको छ । १ वर्षमा ५८% काम होला त ?

यसरी नै सोलुखुम्बुको दूधकोशी नदी पुल वातिम जुजुवोदको लम्बाइ ९३ मिटर रहेको छ । १५ करोड ८१ लाख लाग्ने उक्त पुल २०८२/११/३० मा सम्पन्न गरिसक्नुपर्ने छ तर अहिलेसम्म ४५% प्रगति भएको छ । सम्झौता २०७६/६/२७ मा भएको हो । यो पुल सम्पन्न गर्ने समय ७ महिना जति छ के ७ महिनामा ५४% काम सम्पन्न हुन सक्ने सम्भावना कम छ । ६ वर्षमा ४५% काम भएको छ भने ७ महिनामा बाँकी काम कसरी हुन्छ सम्पन्न यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

पूर्वाधार विकास निर्देशनालयले झोलुङ्गे पुलको लट्टासमेत वितरण गरेको छ । कहाँ कहाँ वितरण गरिएको छ ४५ वटा झोलुङ्गे पुल कहाँ कहाँ छ यसतर्फ निर्देशनालयले सार्वजनिक गर्न सकेको छैन ।

कोसी प्रदेशमा शिलान्यास धेरै भए डिपिआर हुँदै छ । यी हुँदैमा विकास भएको मान्न सकिँदैन । शिलान्यासलाई विकास भएको भन्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बसेर अनलाइनमार्फत धेरै ठाउँका पालिका स्तरीय अस्पताल शिलान्यास गर्नुभएको थियो । अस्पताल कहाँ कहाँ बनेको छ यसको नियमन नहुँदा कुनै दिन अनलाइनबाटै अस्पतालको उद्‌घाटन भएमा आश्चर्य मान्नुपर्ने छैन ।

तपाईको प्रतिक्रिया