विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाद्वारा विशेष पहल गरी बरगाछी-रानी सडक सौन्दर्यीकरणको कार्य समाप्त भएको छ ।

उक्त क्षेत्रको बिच भागमा तारले घेरबार गरी रुख बिरुवा लगाउने जिम्मा दिँदै महानगरपालिकाले बेनी गोपाल मुन्दडालाई जिम्मा दिँदै ४३ लाख जति रकम समेत उपलब्ध गराएपछि कामलाई उचाइमा पुर्‍याइएको थियो ।

बिचमा फूलका बिरुवाहरू सँगसँगै घाँस पनि रोपिएको हुँदा पशु एवम् बाख्रा पालक व्यक्तिहरू खुसी देखिएका छन् ।

फूल र अन्य बिरुवाको विकास नभए पनि घाँसको विकास भएको छ । यसलाई विराटनगरवासीले नकारात्मक रूपमा लिनु हुँदैन । सवारी-साधनमा चढेर हिँडेपछि उक्त स्थानको सौन्दर्यीकरणले गर्दा विराटनगरलाई कुरूप बनाएको भन्नेको मुखमा ताला लागेको छ ।

उक्त घाँसकै कारण १०० भन्दा बढी बाख्राले घाँस खान पाएका छन् । बाख्रा पालकले घाँस खोज्न जङ्गल जानु पर्दैन किनकि मेयर कोइरालाबाट विराटनगरकै बिचमा जङ्गल बनाइदिएपछि बाख्रा पालकहरू घाँसको लागि जङ्गल, खेतबारीमा भौँतारिनुपर्ने अवस्थाको अन्त भएको छ ।

बरगाछीदेखि रानी सडक खण्ड मात्र होइन विराटनगरको गल्ली गल्ली चोकमा यो अभियान चलाउनुपर्ने देखिन्छ । कौसीमा खेती लगाउने कामलाई थाती राखी त्यसमा दिइने तालिमलाई थाती राखी बरगाछी-रानि सडक सौन्दर्यीकरण जस्तो नवीन अभियान चाल्नुपर्ने देखिएको छ ।

बरगाछी-रानी सडक सौन्दर्यीकरणको लागि विराटनगरमा खोलिएका बैङ्क एवम् वित्तीय संस्थाले सहयोग गरेका थिए ।

अब महानगरपालिकाले बरगाछी-रानी सडक खण्डको बिचमा लगाइएको घाँसको ठेक्का लगाई उक्त घाँसबाट महानगरपालिकाले राम्रो आम्दानी गर्न सक्छ । यसतर्फ स्थानीय तहबाट आवाज उठाउनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया