विराटनगर । बाँसको सहारा लिएर फर्ल्ड लाइट जडान गरी रात्रिकालीन विराट गोल्डकप फुटबल टुर्नामेन्ट सम्पन्न गर्नुहुने नवीन रिजाल यस पटक विवाद मुक्त हुन सक्नु भएको छैन ।

पहिलो पटक रात्रिकालीन समयमा विराट गोल्डकप सम्पन्न गर्ने जिम्मा पाउनुभएका नवीन रिजालले गोल्डकप टुर्नामेन्टलाई नाफा दिलाउनुभएको थियो ।

तर २०८१ सालमा सम्पन्न भएको विराट गोल्डकप फुटबल टुर्नामेन्ट गर्ने जिम्मा पाई टुर्नामेन्ट सम्पन्न गराउनुहुने रिजालले अहिलेसम्म हिसाब-किताब विराट गोल्डकप फुटबल ट्रस्टलाई बुझाउनु भएको छैन । यसले गर्दा ट्रस्टलाई आफ्नो वार्षिक साधारण सभा सम्पन्न गर्न कठिनाइ भइरहेको छ ।

२०८२ सालको लागि विराट गोल्डकप फुटबल टुर्नामेन्ट गर्ने समय आउन लागिसकेको छ । यसतर्फ ट्रस्टले निर्णय गर्न सकेको छैन ।

नवीन रिजालसँग हिसाब-किताब मागे पनि उहाँले हिसाब दिन सक्नुभएको छैन । आफू निकटका केहीलाई कहिले ५ लाख घाटा भयो, कहिले ३ लाख घाटा भयो भनेर बताउँदै आउनुभएको छ ।

यस पटक विराट गोल्डकप फुटबल टुर्नामेन्टमा घाटा भयो भनेर विश्वास गर्ने पक्षमा ट्रस्टका पदाधिकारी देखिँदैनन् । विराट गोल्डकप फुटबल ट्रस्टले आफैँले विराट गोल्डकप गर्दा सञ्चारकर्मीलाई रकम दिन परेन सञ्चार गृहले समाचार सम्प्रेषण गरेकै थिए तर प्रदेश सरकार एन्फाले दिने भनेको रकम नदिएको हुँदा ट्रस्टको रकम खर्च गर्नुपरेको थियो ।

यो पटक सो अवस्था थिएन । विराट गोल्डकप फुटबल ट्रस्टले पहल गरी कोसी प्रदेश सरकार, एन्फा, महानगरपालिका विराटनगर, बैङ्कबाट ४० लाख बढी रकम उठाएर नवीन रिजाललाई दिएको बताइन्छ ।

अन्य व्यापारीसँग नवीन रिजाल आफैँले सम्पर्क गरी रकम उठाउनुभएको थियो । उहाँले कति उठाउनुभयो, केमा कति रकम खर्च गर्नुभयो, बिलसहित ट्रस्टलाई बुझाउनेतर्फ रिजालले कुनै चासो देखाउनुभएको छैन ।

उहाँले सञ्चारमाध्यमलाई मात्र ३ लाख बढी रकम दिनुभएको कुरा उहाँले आफू निकटलाई बनाउनुभएको छ । उहाँले कुन-कुन सञ्चारमाध्यमलाई कति रकम दिनुभयो यसतर्फ ट्रस्टकै केही व्यक्तिहरूले खोजी गर्न लागेका छन् ।

विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिका अध्यक्ष नवीन रिजाल आफू निकटकालाई खुसी पार्न दिएको रकम गोल्डकपमा खर्च गरेको भन्दै भन्न थालेको आरोप ट्रस्टका जिम्मेवार व्यक्तिले भन्न थालेका छन् ।

हिसाब सार्वजनिक गर्न किन आनाकानी गरिएको हो भनेर विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिका अध्यक्ष नवीन रिजालसँग जिज्ञासा राख्दा गोल्डकपको हिसाब आफूले दुरुस्त राखी ट्रस्टका अध्यक्षलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न आग्रह गरेको हो तर बहाना बनाएर उहाँले चासो दिनुभएको छैन । आफू तयार रहेको बताउनुभयो ।

यस विषयमा विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीसँग जिज्ञासा राख्दा नवीन रिजालले आफूसँग सम्पर्क नगरेको बताउनुभयो । पहिला ट्रस्टलाई हिसाब देखाउनुपर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया