विराटनगर । विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०८१ आयोजक समितिका संयोजक नवीन रिजालले मिडिया ट्रायलपछि पत्रकार सम्मेलन गरी हिसाब-सार्वजनिक गर्नुभएको छ ।

उक्त समयको हिसाबको लेखापरीक्षण नगरी आफूले तिर्नुपर्ने रकम नतिरीकन आम्दानी १ करोड ७ लाख, खर्च १ करोड ४ लाख भएको बताउनुहुँदै रिजालले यहाँ राजनीतिकरण बढी भएको, टिकट काट्नेभन्दा पास माग्ने बढी भएको बताउनुभयो ।

गोल्डकप हुन यति दिन बाँकी भनेर सामान्य विज्ञापन प्रकाशन गरेबापत १ लाखभन्दा बढी रकम दिएको रिजालले बताउनुभयो ।

घुमाउरो पारामा समाचार प्रकाशन गरेबापत पनि भुक्तानी दिएको सङ्केत समेत गर्नुभएको थियो ।

गोल्डकप सञ्चालन गर्न महानगरपालिका, कोसी प्रदेश सरकार, एन्फा लगायत व्यापारिक प्रतिष्ठान, बैङ्कहरूले रकम जुन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, महानगरपालिका बाहेक अन्यले दिने भनेको रकम नदिएको बताउनुभयो ।

विराट गोल्डकपमा नाफा ३ लाख भएकोमा १ लाख आफूले दिने बताए पनि उहाँले भुक्तानी गर्नुपर्नेलाई भुक्तानी नगरेको चर्चा खेला८ बिच चल्न थालेको छ ।

विराट गोल्डकपको फाइनलमा आफूले १ हजार ८ सय पास वितरण गरेको बताउनुभयो । फाइनलमा ५०० रुपैयाँ टिकट थियो । उहाँले वितरण गरेको १८०० पास बापतको रकम कोबाट असुल गर्नुभयो ? यो ट्रस्टले खोज्ने बेला भएको छ ।

नवीन रिजालको दायित्वमा रहेका सहिद मैदान खर्च ५० हजार, खाना खर्च ४१ हजार, अडिट खर्च, आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने कर गरी २ लाख जति अब ट्रस्टले तिर्नुपर्ने देखिन्छ । रिजालले सार्वजनिक गरेको खेस्रामा छाप छैन, सही छैन, यसलाई कसरी लिने, यो खोजीको विषय बनेको छ ।

नवीन रिजालले फाइनलको समयमा १८०० पास वितरण गर्नुभयो, यो उहाँकै भनाइ हो । अरू दिन कति पास वितरण गर्नुभयो सो बताउनुभएन ।

उहाँलाई गोल्डकप सञ्चालन गर्ने जिम्मा दिइएको थियो । उहाँले जुन नाफा देखाउनुभएको छ सो वास्तविक नाफा होइन, नाफा हुने रकमलाई दुई हातले उडाउनुभयो पास वितरण गरेर । मिडियाको नाममा अनावश्यक रकम खर्च गरेर ।

विराट गोल्डकप फुटबल ट्रस्टले गोल्डकप आयोजना गर्दा यहाँका सञ्चारमाध्यमले निःस्वार्थ तरिकाले सहयोग गरेका थिए । तर नवीन रिजाललाई जिम्मा दिँदा स्वार्थ उत्पन्न भयो भनेर देखाउने काम उहाँले गर्नुभएको छ ।

विराट गोल्डकप फुटबल टुर्नामेन्ट गराउन सहयोग गर्ने दातालाई प्रमाणपत्र दिएको भए उनीहरूमा उत्साह हुन्थ्यो तर रिजालले सार्वजनिक रूपमै भन्नुभयो – गोल्डकपको लागि दिन्छु भनेर प्रतिबद्धता जनाएकाले भने अनुसार सहयोग गरेनन् । के मौखिक सहमति थियो कि लिखित यसको जवाफ ट्रस्टले दिनुपर्ने देखिन्छ ।

उक्त पत्रकार सम्मेलनमा नवीन रिजालले बोलेको कुरा सुन्दा विराट गोल्डकप फुटबल ट्रस्टको लागि गोल्डकप टुर्नामेन्ट २०८१ माछो माछो भ्यागुतो र विराटनगर गोल्डकपको हिसाब शङ्कास्पद बनेको छ ।

तपाईको प्रतिक्रिया