विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले २०८२ पौष ९ गतेदेखि १९ गतेसम्म विराटनगर वार्ड नं. १ स्थित शान्ति चोकमा आयोजना गर्न लागेको कोशी प्रदेशकै बृहद् अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी, ‘विराट ट्रेड एक्स्पो २०२५’ को सम्पूर्ण तयारी सम्पन्न भएको सहर्ष जानकारी गराएको छ । र पूर्व निर्धारित कार्यक्रम अनुरूप नै भोलि मिति २०८२ पौष ९ गते, दिउँसो २ बजे सङ्घीय सरकारका माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालज्यूको बाहुलीबाट समुद्‌घाटन गरिने भएको छ ।

यस एक्स्पोले कोशी प्रदेशसहित मुलुकभरिका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन र सेवाहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । त्यस्तै, नवप्रवर्तन, महिला, युवासहित सबै वर्गका उद्यमीहरूलाई स्वदेशी एवम् विदेशी लगानीकर्ताहरूसँग व्यवसायिक सम्बन्ध स्थापना एवम् विस्तार गर्न साझा थलो प्रदान गर्ने छ । कोशी पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्दै यस एक्स्पोले कोशी प्रदेशको संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा प्रचार प्रसार गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

यस एक्स्पोमा निर्मित ३ वटा हेङ्गर र २०० भन्दा बढी स्टलहरूबाट कृषिजन्य र औद्योगिक उत्पादनहरू, कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य लगायका सेवाहरूका साथै छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि विभिन्न मुलुकका उत्पादनहरूको प्रदर्शनी गरिँदै छ । यस ११ दिने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, ए.आइ. सूचना प्रविधि लगायत विभिन्न विषयहरूमा थमेटिक सेसन र सेमिनारहरू सञ्चालन गरी सहभागीहरूलाई उपयुक्त ज्ञान, सीप र अवसरहरू प्रदान गरिनेछ । सो कुरा मोरङ उद्योग सङ्गठनका अध्यक्ष अनुपम राठीले बताउनुभयो ।

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रवर्द्धन गरिरहेको यस एक्स्पोलाई रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले मुख्य प्रायोजन गरेको छ । त्यस्तै खुकुरी रम, सेन्चुरी मसला र ग्रिन टायर्स एक्स्पोका गोल्ड स्पोन्सरका रूपमा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश, नेपाल उद्योग परिसङ्घ, कोशी प्रदेश, उद्योग सङ्गठन मोरङ, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ, मोरङ, विराट व्यापार सङ्घ, मोरङ अटोमोबाइल डिलर्स एशोसिएसन र मोरङ इलेक्ट्रीक सङ्घ यसको सहयोगी संस्थाका रूपमा रहेको बताइन्छ ।

त्यस्तै, यस एक्स्पोको सिल्भर स्पोन्सरको रूपमा रिजालको सिपीभिसी पाइप्स, हिमगिरी हाइजिन, म्याजिक फुटवेयर, हेलो तेल, हाइटेक्स कार्पेट, पायोनियर केवल, युनाइटेड फुड, एन.जी. इलेक्ट्रो, राइनो प्लाष्टिक र प्याडलक्स कम्पनीहरू रहेका छन् भने नलेज पार्टनगरको रूपमा पूर्वाञ्चल युनिभर्सिटी, हाइट्रेसन पार्टनरको रूपमा हुलास पानी, बैङ्किङ पार्टनरको रूपमा माछापुच्छ्रे बैङ्क लिमिटेड, इन्स्योरेन्स पार्टनगरको रूपमा शिखर इन्स्योरेन्स, हेल्थ पार्टनरको रूपमा प्राइम हस्पिटल, सिसिटीभी पार्टनरको रूपमा हिक भिजन, सोलार पार्टनरको रूपमा प्राइम रिन्यूवल्स, हस्पिटालिटी पार्टनरको रूपमा सिटी प्यालेस, इनर्जी पार्टनरको रूपमा एक्स्ट्रीम इनर्जी ड्रिङ्क, सेक्युरिटी पार्टनरको रूपमा सुदर्शन सेक्युरिटी, एजुकेशन पार्टनरको रूपमा श्री रवि शङ्कर विद्या मन्दिर आबद्ध रहेका छन् भन्ने कुरा विराट ट्रेड एक्स्पोका संयोजक अमित कुमार शारडाले बताउनुभयो ।

यस एक्स्पोमा नेपाली कला-संस्कृति झल्कने प्रवेशद्वार निर्माण गरिएको छ भने दर्शकहरूको मनोरञ्जनका लागि मनोरञ्जनका लागि कुमा सागर, रकहेड्स, इलिमेन्टस, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य लगायतका विभिन्न राष्ट्रिय व्याण्डहरूबाट प्रत्येक दिन प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमहरू राखिएका छन् । त्यस्तै यस एक्स्पोमा विशेष आकर्षणका रूपमा जलपरीहरूको प्रदर्शनी, ओपेरा हाउसको ३० फिटे आकृतिसहित स्टार सेल्फी जोन, बाल उद्यान आदि राखिएका छन् । साथै, गायन क्षेत्रका पारखीहरूका लागि विराट भ्वाईस प्रतियोगिता सञ्चालन गरिएको छ, जसमा उत्कृष्ट विजेतालाई एक लाख पुरस्कृत गरिने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया