
विराटनगर । इलाका प्रहरी कार्यालय रानीको मातहतमा रहेको केही प्रहरी युनिटहरूले कारोबारीलाई संरक्षण दिने गरेका छन् ।
उक्त मातहतमा रहेको युनिटमध्ये जोगबनीदेखि विराटनगरतर्फ आउने रानी बस स्टेण्डको प्रहरी युनिट, मटेरुवा प्रहरी युनिट, भेडियारी प्रहरी युनिट, हुलासचोक प्रहरी युनिटले कारोबारीलाई निरुत्साहित गर्नुको बदला संरक्षण दिँदै आएको बताइन्छ ।
२ नम्बर ढाँट नजिक रहेको प्रहरी युनिटले त कारोबारीको सामान खोसेर गुम्तीमा राख्ने गरेको पाइन्छ ।
यसरी राखिएको सामान आफू मातहतको इकाईलाई नबुझाईकन लेनदेन गरेर कारोबारीलाई जिम्मा लगाउने गरेको कुरा प्रत्यक्षदर्शीले बताएका छन् ।
यसरी उक्त युनिटले मङ्सिर महिनामा कति मूल्य बराबरको सामान बुझाएका छन् भनेर इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षकसँग जिज्ञासा राख्दा उक्त कुराको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्तालाई सोध्नु उहाँले बताउनुहुन्छ भनेर जवाफ दिनुभयो ।
आफू मातहतको युनिटले कति मूल्य बराबरको सामान नियन्त्रणमा लिई बुझाएका छन् सो बताउन चाहनु भएन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्तासँग जिज्ञासा राख्दा इलाका प्रहरी कार्यालय रानी, विराटनगर मातहतको युनिटले कति मूल्य बराबरको सामान बुझाएको छ सो कुरा इलाका प्रहरी कार्यालय रानीलाई थाहा हुन्छ भन्नुभयो ।
इलाका प्रहरी कार्यालय रानी विराटनगर र मातहतको युनिटले बुझाएको सामान बारेमा थाहा नभए पनि इलाका प्रहरी कार्यालय रानी विराटनगरको रेकर्ड अनुसार मङ्सिर महिनामा १० लाखभन्दा बढी मूल्य बराबरको सामान भन्सार कार्यालय रानीमा बुझाएको प्रवक्ताले बताउनुभयो ।
२०८२ मङ्सिर महिनामा इलाका प्रहरी कार्यालय रानीबाट मङ्सिर २ गते ३ लाख ७५ हजार, मङ्सिर ३ गते ७४ हजार, मङ्सिर २० गते २ लाखख ८१ हजार ७ सय, मङ्सिर २१ गते ८६ हजार, मङ्सिर २५ गते २ लाख मूल्य बराबरको भन्सार बुझाएको प्रवक्ताले बताउनुभयो । यसरी बुझाएको सामान मानिस र सवारीसाधन सहित रहेको प्रवक्ताले बताउनुभयो ।






