विराटनगर । कटहरी गाउँपालिकाले ल्याएको कृषक केन्द्रित कार्यक्रम प्रायजसो गैर कृषकहरूलाई प्राथमिकतामा राख्दै आएको छ ।

कटहरी गाउँपालिकाको कृषि शाखालाई पूर्ण जानकारी नदिईकन कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुराले कटहरी गाउँपालिका भित्र निकै चर्चा हुन थालेको छ ।

दुई वर्ष अगाडि ल्याइएको तुलसी खेती कार्यक्रममा लगाइएको लगानीले कुनै प्रतिफल हासिल गर्न नसकेको कुरा कृषि शाखा निकट सूत्रले बताएको छ ।

तुलसी खेतीमा करिब ५ लाखभन्दा बढी लगानी गरेको देखाए पनि उक्त लगानी कागजमा सीमित रहेको हुँदा यसले निरन्तरता पाउन सकेन ।

कटहरी गाउँपालिकाले एक कृषि सहकारीमार्फत कटहरी गाउँपालिका र जहदा गाउँपालिकाका किसानलाई लक्षित गरी माटो परीक्षण सम्बन्धी ५ दिने तालिमको शुभारम्भ गरेकोमा उक्त तालिमको बारेमा कार्यालयका कृषि शाखा नै अनभिज्ञ रहेको पाइएको छ ।

उक्त तालिममा कति कृषक सहभागी छन्, माटोको परीक्षण गर्ने प्रविधि के छ भनेर कटहरी गाउँपालिका कृषि शाखाको सहसंयोजक चित्रा राईसँग जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

तालिम कहाँ भइरहेको आफूलाई थाहा छैन, तालिम भइरहेको छ र भनेर प्रतिप्रश्न गर्नुभएको थियो ।

यसरी जुन शाखासँग सम्बन्धित कार्यक्रम हुन्छन् उक्त शाखालाई जानकारी नगराउनु तालिममा सुपरिभिजनको लागि स्थान नदिनुलाई सबैले शङ्काको रूपमा हेर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया