
विराटनगर । कटहरी गाउँपालिकाको कार्यालय मोरङले सञ्चालन गरेको युवायुवती लक्षित कार्यक्रममा ठूलै आर्थिक चलखेल हुने आशङ्का सर्वत्र गर्न थालिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा युवायुवतीलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्बन्धी आयोग तयारी कक्षा सञ्चालन गरेको छ ।
यस प्रकारको तयारी कक्षा अन्य निजी स्तरबाट सञ्चालित इस्टिच्युटले गर्दै आएका छन् । उनीहरूले सञ्चालन गर्ने तयारी कक्षाको समय हुँदैन, तयारी कक्षा लिने विद्यार्थीलाई परीक्षा नभएसम्म व्यवहारिक र अन्य ज्ञान सिकाइन्छ तर कटहरी गाउँपालिकाले आयोजना गरेको तयारी कक्षा ३० दिनको रहेको बताइन्छ ।
यसको प्राविधिक सहयोग मेची पोलिटेक्निकल इस्टिच्युट प्रा.लि. दमक झापा र कटहरी गाउँपालिकाले लिएको छ ।
विराटनगरमा यस प्रकारका तयारी कक्षा सञ्चालन गर्ने संस्था हुँदाहुँदै दमकलाई दिनुको पछाडि ठूलो चलखेल भएको हुनुपर्ने आशङ्का गर्न थालिएको छ ।

उक्त संस्थाले प्रत्येक विद्यार्थी बराबर १ महिनाको लागि ९००० लिएको र सहभागीलाई लुगा समेत दिने कुरा संस्था निकट सूत्रले बताएको छ ।
तयारी कक्षामा ३० जना सहभागिता रहेको र अन्तिम दिन कटहरी गाउँपालिकाका प्रमुखले लुगा दिने कार्यक्रम रहेको संस्थाका जिम्मेबार व्यक्तिले बताएका छन् ।
प्रत्येक सहभागी बराबर ९००० लागि हिसाब गर्दा २ लाख ७० हजार खर्च लाग्छ । विराटनगरमा सञ्चालित तयारी कक्षा लिने संस्थाले कति लिन्छन् त्यसतर्फ कटहरी गाउँपालिकाको कार्यालयको ध्यान जान सकेको देखिदैन ।
रोजगारमूलक तालिममा बेमेल देखिएको छ । यसरी कटहरी गाउँपालिकाले रोजगारको लागि तालिम दिलाउनु बदला उनीहरूको योग्यता, क्षमता अनुसार कुन उपयोगी हुन्छ त्यसतर्फ ध्यान दिनुपर्ने हो ।
विराटनगरमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने निकै छन्, त्यही युवायुवतीलाई पठाएको भए धेरै जनाले बुझ्न पाउने थिए । यसतर्फ सरोकारवाला नियमकारी निकायको ध्यान जानु जरुरी छ ।









