
विराटनगर । भारतबाट नेपालतर्फ व्यापारीले ल्याउने सामानलाई भारतीय सुरक्षाकर्मीले कढाइका साथ निगरानी राख्न थालेका छन् ।
भारतबाट नेपालतर्फ एक व्यापारीले भरियामार्फत ल्याएको सामान भित्र अवैध सामान हतियार नेपालतर्फ जाँदै छ भन्ने सूचना भारतीय पक्षले थाहा पाएपछि जोगबनीबाट नेपालतर्फ ल्याइएको व्यापारिक प्रयोजनको सामानभित्र उक्त बस्तु फेला पारेपछि उक्त सामानलाई नियन्त्रणमा लिई जोगबनीको केही किराना पसलमा समेत भारतीय प्रहरीले छापा मारेको घटना बाहिर आएको छ यसले गर्दा नेपालतर्फ ल्याउने कारोबारीबिच यो घटनाले निकै चर्चा पाएको छ ।
नेपालमा फागुन २१ गते संसदीय निर्वाचन हुन लागेको हुँदा यस प्रकारको सामान नेपालतर्फ ल्याउन खोजिएको आशङ्का सर्वत्र गर्न थालिएको छ ।
जोगबनीबाट नेपालतर्फ सामान ल्याउने कारोबारीका अनुसार उक्त घटना घटेको कुरालाई ध्यानमा राखी भारतीय सुरक्षाकर्मीले निगरानी राख्दै जुन सामानको बाटोमा उक्त वस्तु फेला पारेको थियो । उक्त वस्तु कुन पसलबाट कुन व्यापारीले नेपाल लान्छन् त्यसको खोजी कार्य भारतीय पक्षबाट भइरहेको कुरा बताइन्छ ।
सीमा प्रहरी चौकी रानी विराटनगरका जिम्मेवारी व्यक्तिसँग यसतर्फ जिज्ञाशा राख्दा भारतमा भएको कुराको बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

हुनत यो हतियार घटनाले जोगबनी बजार तातेको छ । नेपालतर्फ सामान ल्याउने कारोबारीहरू जोगबनी जान छोडेका छन् ।
खुला सिमाना भएको कारण नेपालमा हतियार नआउला भन्न सकिँदैन ।
जोगबनीदेखि नेपाल प्रवेश गर्ने नाकामा खटिएका सुरक्षाकर्मीले व्यापारिक सामानलाई रोकेर हेर्नुको बदला कसको सामान भनेर सामान बोक्नेलाई सोध्ने गरेका छन् । नेपालतर्फबाट जति उच्च सतर्कता अपनाउनुपर्ने हो अपनाएको पाइँदैन । यसलाई सामान्य रूपमा हेरेमा निर्वाचनमा कतै अप्रिय घटना घट्न सक्ने सम्भावना देखिएको छ ।
यसलाई हेर्दा भारतीय पक्षबाट उच्च सतर्कता अपनाएको पाइन्छ भने नेपाल पक्षबाट नजरअन्दाज गरेको पाइएको छ ।









