विराटनगर । नेपाल-भारत अन्तर्राष्ट्रिय नाका रहेको विराटनगर नेपाल-भारत जोगबनी जाने बाटोमा नेपालतर्फबाट बनाइने भनेको आकाशे पुल तथा स्वागत द्वार समय सकिएपछि निर्माण कम्पनीले त्यसतर्फ ध्यान दिएको छैन ।

२०८२ फागुन २५ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने गरी ठेक्का लिएको ह्यावीट्याक आशिष दीप जेभी भद्रपुर-४ कम्पनीले पटक पटक म्याद थप गराए पनि ६ महिनादेखि कुरुप अवस्थामा उक्त स्थानलाई छोडेको छ ।

शहरी विकास तथा भवन कार्यालय कोशी प्रदेश विराटनगरको प्रत्यक्ष निगरानी र कोशी प्रदेश सरकारको ७०%, विराटनगर महानगरपालिकाको २५% र उद्योग व्यापार सङ्गठनको ५% लगानीमा निर्माण सम्पन्न गरिने गरी सुरु गरिएको साझेदारी योजना अलपत्र बनेको छ । उक्त कार्यालयले पटक-पटक निर्माण कम्पनीलाई पत्र लेखे पनि बेवास्ता गरेको थियो । पछि उक्त कम्पनीको नाममा कृषि विकास बैङ्क भद्रपुरमा रहेको खाता रोक्का गर्ने पत्र बैङ्कलाई पठाएपछि निर्माण कम्पनी पुनः आएर यो अवस्थासम्म पुर्‍याएको हो ।

उक्त पुल सम्पन्न गर्न ७ करोड ७६ लाख ८ हजार ८४२ रुपैया ९९ पैसा मु.अ.कर बाहेकको लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजार ९४५ रुपैयाँ ८४ पैसा मु.अ.कर बाहेकमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

अहिले पूर्वाधार विकास कार्यालय कोशी प्रदेश विराटनगरको जिम्मा आएको भए पनि उक्त आकाशे पुल तथा स्वागत द्वारले पूर्णता पाउन सकेको छैन ।

ठेक्का लागेपछि २५% सुरुमा निर्माण पक्षलाई रकम दिइसकेको छ । समय सीमा नाघिसकेको हुँदा यसतर्फ पूर्वाधार विकास कार्यालय विराटनगरको के धारणा छ, के गर्ने योजना छ यो विषयमा कौतुहलता जागेको छ ।

निर्माण कम्पनीलाई कालो सूचीमा राखी उसलाई कालो सूचीमा राखेर सबै विकास निर्माण गरिने सरकारी कार्यालयलाई सूचना पठाउनुपर्ने आवाज उठ्न थालेको छ । यस विषयमा पूर्वाधार विकास कार्यालय विराटनगरका ई. नरेश वास्ताकोटीसँग जिज्ञासा राख्दा उक्त निर्माण कार्यको लागि पटक पटक म्याद पथ भएको हो । चौथो संशोधनलाई टेकेर निर्माण कम्पनीले म्याद थप गराएको छ । यो म्याद २०८२ फागुनसम्म रहेको बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय विराटनगरले सम्पर्कमा आई काम गर्न पत्राचार गरिए पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन भन्नुभयो ।

थप गरिएको समयसम्म पत्र काट्ने बाहेक केही गर्न सकिँदैन समयमा नआएमा र काम नगरेमा कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सक्छ वास्ताकोटीले बताउनुभयो ।

स्थलगत रूपमा हेर्ने हो भने निर्माण कम्पनीले समयमा डि.पि.आर अनुसार काम गर्न सक्ने सम्भावना देखिँदैन । तसर्थ ह्यावीट्याक आशिष दीप जेभी भद्रपुर कालोसूचीमा पर्ने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया