विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगर मोरङको मातहतमा रहेको क्षेत्र पछिल्लो समय जाँगा कारोबारीको लागि उर्वरभूमि बन्दै गइरहेको छ । इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुखको मिलोमतो र संरक्षणमा गाँजाको कारोबार व्यवस्थापन र भण्डारण हुने काम भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुख प्रहरी नायव निरीक्षक धनबहादुर सुनवारलाई तपाईंको क्षेत्रबाट गाँजा लगायत अन्य सामान तीव्र गतिमा ओसारपसार भइरहेको छ भनेर कुरा के हो भनी बुझ्दा उहाँले मेरो क्षेत्रमा गाँजा लगायत कुनै पनि गलत कारोबार हुँदैन भन्दै दाबी गर्नुभयो । उक्त विषयमा समाचार लेख्दा हुन्छ भनेर सोध्दा – मलाई कुनै फरक पर्दै भनेर जवाफ दिनुभएको थियो ।

उहाँले जवाफ दिएको ७२ घण्टा नबित्दै उहाँकै क्षेत्रबाट ठूलो परिणामको गाँजा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।

यसलाई हेर्दा इलाका प्रहरी कार्यालय बुधनगरको प्रमुखको मिलोमतोमा गाँजाको भण्डार, व्यवस्थापन र बिक्री वितरण हुने गरेको त रहेनछ भन्ने आशङ्का सर्वत्र हुन थालेको छ ।

शनिबार बिहान जहदा भुटाहा-१ नयाँ टोल क्षेत्रबाट २७५.८ के.जी. गाँजा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विओपी दरैया, विओपी मधुमल्लाको संयुक्त टोलीले बरामद गरेको थियो ।

परालको तौवा मुनि खाल्डो खनेर लुकाई राखेको फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका चन्दन शाहलाई नियन्त्रणमा लिएको थियो । यसको पुष्टि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीका प्रमुख तिलक खड्काले सार्वजनिक गर्नुभएको थियो ।
गाँजाको भण्डारण उक्त क्षेत्रमा नभएको दाबी गर्ने नेपाल प्रहरीका धनबहादुर सुनवारको दाबीलाई गलत साबित गरेको छ ।

यहाँ इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुखको सेटिङमा भइरहेको गाँजाको कारोबारलाई र सेटिङलाई सशस्त्र प्रहरीले कही हदसम्म भए पनि निस्तेज पारेको छ ।

तपाईको प्रतिक्रिया