
विराटनगर । “समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम” सप्ताहव्यापि रूपमा सञ्चालन गरिएको छ । असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम मोरङ जिल्लाको दुई स्थानमा सुरु गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङ र मोरङ जिल्लाको रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा उक्त कार्यक्रमको एकैसाथ शुभारम्भ भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्देश्य समुदायस्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्नु रहेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङमा आयोजित कार्यक्रम कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको थियो । कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटा लगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। त्यसै गरी रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा भएको कार्यक्रम रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख भुमा पराजुली को प्रमुख आतिथ्यमा शुभारम्भ भएको थियो।
कार्यक्रममा मोरङ जिल्लाका स्थानीय तहका नगर प्रहरी तथा विभिन्न सङ्घसस्थाका जम्मा ४० जना प्रशिक्षार्थीहरूलाई तालिम अवधिभर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रशिक्षण तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ ।







