विराटनगर । देशभरिका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी राहत करार शिक्षक तथा कर्मचारीको पेशागत सुरक्षा, हकहितको लागि नयाँ सङ्गठन उदय भएको छ ।
शिक्षकको लागि भनेर खोलिएका अन्य सङ्घसङ्गठनहरुले दलीय आधारमा अस्थायी राहत, करार शिक्षक तथा कर्मचारीप्रति भेदभाव गर्ने भएको हुँदा त्यसलाई चिर्दै विष्णु खत्रीको संयोजकत्वमा ३० सदस्य नेपाल अस्थायी शिक्षक कर्मचारी महासङ्घ केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
यो महासङ्घले अस्थायी शिक्षक, करार, राहत र अन्य कर्मचारीको पेशागत हकहितको लागि सबैलाई समेटेर अन्य सङ्घसंस्थालाई एकता गरी अगाडि बढ्ने उद्देश्य रहेको कुरा केन्द्रीय सदस्य जीवन तिम्सिनाले बताउनुभयो ।
अहिले हामी दर्ता प्रक्रियामा छौँ, दर्ता भएपछि शिक्षक हकहितमा सक्रियपूर्वक लाग्ने कुरामा सबै विश्वस्त हुनुपर्ने कुरामा महासङ्घको भनाइ रहेको छ ।






