
विराटनगर । विराटनगर भन्सार कार्यालय, रानी, विराटनगरले मोरङको सोराभागमा रहेको छोटी भन्सारलाई भाडामा दिएको छ ।
उक्त कार्यालयको मेन गेटमै ताला लाग्नु, त्यहाँको कर्मचारी अनुपस्थिति हुनु, कार्यालयको तालको एक चाबी भारतीय नागरिकको हातमा सुम्पिनुलाई भाडामै दिएको अडकल गर्न थालिएको छ ।
मायागञ्ज नजिक रहेको भारतीय बजारबाट महँगो सामान ल्याएर कार्यालयकै कोठामा राख्ने गरेको र अनुकूलता हेरी टेम्पो, अटो, सिटीमा उक्त सामान हालेर मायागञ्जको बाटो हुँदै आमतोला भएर रङ्गेली, डाइनियातर्फ लाने गरेको बताइन्छ । उक्त मायागञ्ज नजिक रहेको भारतीय बजारबाट महँगो सामान, मोटर पार्टसको सामान, कपडा, खाद्यान्न सामानहरु आइरहेका छन् ।
यसतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरी अनजान बनेका हुन् कि बनेका हुन् यो खोजीको विषय बन्नु जरुरी छ ।
यसरी ल्याइएको सामानहरु छोटी भन्सार कार्यालय मायागञ्जमा राख्ने, बाहिर हेर्दा भन्सार कटाउन ल्याएको भनेर देखिने तर सामान अनुकूल हेरी गन्तव्यतर्फ लाने काम भइरहेको छ ।
छोटी भन्सार कार्यालय मायागञ्ज अगाडि सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, मायागञ्जबाट खटिएको सशस्त्रको टोली हुन्छ । यसले छोटी भन्सार कार्यालयबाट निकालिएको सामान भन्सार काटेको छ छैन हेर्दैनन् । यसलाई हेर्दा सटिङमा कारोबार हुने गरेको सङ्केत देखिएको छ ।
छोटी भन्सार कार्यालय मायागञ्ज मोरङ भारतीय नागरिकलाई भाडामा दिएको हो होइन के हो ? भनेर विराटनगर भन्सार कार्यालय रानीका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठसँग जिज्ञाशा राख्दा छोटी भन्सार कार्यालय मायागञ्ज मोरङलाई भाडामा दिएको छैन, जनशक्ति कम र क्वारेन्टिन कार्यालय नभएको कारण कार्यालयको चाबी कार्यालय हेर्नका लागि अरुलाई दिएको हुन सक्छ भन्नुभयो ।
चाबी भारतीय नागरिक र कारोबारीलाई दिने काम किन भएको हो त भनेर जिज्ञासा राख्दा भारतीय नागरिकलाई दिएको हो वा के हो आफूले बुझ्ने कुरा बताउनुभयो ।
छोटी भन्सार कार्यालय मायागञ्जको कार्यालयको चाबी गैरकर्मचारीलाई कार्यालय हेर्न दिएको कुरालाई घुमाउरो बारामा स्वीकार गर्ने काम प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताउनुभएको छ ।
जबकि सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ भने चाबी गैर कर्मचारीलाई दिनुपर्ने कारण के हो ? यसतर्फ आम नागरिकले सोच्नु जरुरी छ ।
पछिल्लो समय मायागञ्ज नाकाबाट सामान ओसार पसार हुन्छ भन्ने कुरा बाहिर आएको थियो तर छोटी भन्सार कार्यालय नै कारोबारीको लागि सहयोग बनेको त छैन यसतर्फ ध्यान जानु जरुरी छ ।






