विराटनगर । मोरङ जिल्ला स्वास्थ्यमा मात्र होइन शिक्षामा पनि अब्बल मानिने गरेको छ । विराटनगरमै १ दर्जनभन्दा बढी निजी एवम् सामुदायिक विद्यालय रहेका छन्, उक्त विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूका अभिभावकले महँगो शुल्क लिने उच्च मा.वि.मा आफ्नो बच्चालाई पढाउँदै आएका छन् ।
उच्च माध्यमिक विद्यालयको व्यवस्थापन पक्षले तोकेको शुल्क तिर्ने गरेका छन् र उक्त विद्यालयले भनेको कपडा पसलबाट विद्यार्थीको पोसाक किन्ने गरेका छन् । यसरी किनिएको पोसाकमा पोलिस्टरको मात्र बाढी हुने र लुगा विद्यार्थीको छालामा टाँसिने गरेको समेत पाइएको छ ।
कपडा पसल र केही निजी उच्च माध्यमिक विद्यालयका सञ्चालकबिच सम्झौता भई सम्झौता अनुसार कपडा पसलले दुहबीको कपडा उद्योगमा कपडा बनाउन लगाउने र जति सक्दो कमसल कपडा बनाउन लगाई विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । कपडा पसलको नाम नै विद्यालयले भन्ने गरेका छन् । कतिपय अभिभावकले उक्त पसलबाट कपडा किनेर अन्त सिलाउन खोजेमा कपडा पसलले आनाकानी गर्ने गरेको घटना समेत बेलाबखत बाहिर आउने गरेको छ ।
कतिपय कपडा पसलले कपडाको फेद तल्लो भागमा आफ्नो पसलको नाम उल्लेख गर्ने गरेका छन् भने कतिपय विद्यालयले आफ्नो विद्यालयको नाम उल्लेख गराउने गरेका छन् मानौँ कपडा पसल र विद्यालयले कपडा उद्योग नै सञ्चालन गरेको हो कि भन्ने महसुस विद्यार्थीका अभिभावकले गर्ने गरेका छन् ।
कपडा खनार सुनसरीको प्रगति टेक्सटायल र नोबेल टेक्सटायल कपडा उद्योगमा गई कपडाको रङ र कपडा कम मूल्यमा बनाउन लगाउने गरेको कुराले व्यापकता पाएको छ । उच्च माध्यमिक विद्यालयका विद्यार्थीले लगाउने पोसाक विद्यालयले तोकेको पोसाकको कपडा मोटो कडा हुने गरेको छ । ५/६ महिना लगाएपछि बिच बिचमा धागो अलग हुने समेत गरेको बताइन्छ । तर यसतर्फ अभिभावकको ध्यान जान सकेको छैन ।
अभिभावकले एक निजी विद्यालयमा गई कपडामा गुनासो गर्ने र कपडाको कारण बच्चाको छालामा समस्या आएको कुरा बताएपछि तपाईँको वकमफुस्रे गफ सुन्दिन गेट आउट भनेर अभिभावकलाई भन्ने र विद्यार्थी निकाल्दा हुन्छ भनेर जवाफ दिने गरेको बताइन्छ । विद्यार्थीमाथि कपडामा राजनीति गरेको भनेर कुरा गरेमा कुरा समेत सुन्न चाहँदैनन् ।
यही विषयमा विद्यार्थीलाई कलेजले निर्धारण गरेको पोसाकमा कैफियत देखिएको गुनासो आइरहेको भनेर एक निजी विद्यालयका प्राचार्यसँग जिज्ञासा राख्दा कपडामा खराबी पाइएमा अभिभावकले कपडा पसललाई भन्नुपर्छ भनेर जवाफ दिनुभएको छ ।
अभिभावकहरू पोसाक लिँदा भौँतारिनु नपरोस् भनेर हामीले पसलको नाम भन्ने गरेका छौँ, कपडा पसललाई हाम्रो विद्यार्थीलाई उपलब्ध गराउने कपडा राम्रो हुनुपर्छ भनेका छौँ, भन्नुहुँदै कहिलेकाहीँ खराब कपडा हुनसक्छ अभिभावकले पसलवालालाई भन्नुपर्छ, यो कुरा हामीसँग आइपुग्यो, हामी पनि पसलवालालाई राम्रो कपडा उपलब्ध गराउन भनौँला भन्ने जवाफ दिने गर्नुभएको छ ।
एप्पलको आइफोनमा त खराबी देखियो भनेर गुनासो आउँछ भने कपडामा खराबी हुनु, कपडा कमसल हुनुलाई सामान्य रहेको जिकिर समेत एक प्राचार्यले गर्नुभयो ।
अर्का निजी विद्यालयका एक प्राचार्यसँग पकडाको विषयमा जिज्ञासा राख्दा हाम्रो विद्यालयमा पोसाकको बारेमा कुनै गुनासो आएको छैन । प्रमाणसहित आएमा पसलमा गई कपडा साट्न सकिने र पसलले नमानेमा कपडा उद्योग समेत बन्द गरिदिने बताउनुभयो ।
अब कपडाको विषयमा अभिभावक चनाखो हुनुपर्छ । आफूले विद्यार्थीको पोसाकको कपडा किनेपछि ४/५ वटा कपडा सिलाउने ठाउँमा गई कपडाको गुणस्तरीयताको बारेमा जानकारी लिनुपर्ने भएको छ । यसतर्फ अभिभावक सचेत हुनु जरुरी छ ।