विराटनगर । नेपालको पछिल्लो राजनीति घटनाक्रमलाई हेर्दा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा हामी सबै दोषी देखिएका छौँ ।

नेपालमा राजनीतिकर्मीलाई कसैले पेसा के भनेर सोधेमा उहाँहरूमध्ये अधिकांशको जवाफ हुन्छ पेसा राजनीति भनेर । यहाँ राजनीतिलाई पेसा बनाउनेको वर्चस्व नेपालमा छ ।

जब राजनीतिलाई पेसा बनाइन्छ तब देशमा लुटतन्त्रले प्रमुख स्थान ओगटेको हुन्छ त्यसलाई कुनै बाटोमा अवरोध भएमा नयाँ नियम बनाउने र अवरोध हटाउने काम हुने गरेको छ ।

मुलुकमा चरम भ्रष्टाचार हिजो भुक्के चप्पल लगाउने व्यक्ति राजनीतिमा आएपछि उसको जीवनस्तरमा निकै सुधार भएको देखिन्छ ।

भ्रष्टाचार, नातावाद, कृपावाद, अत्याचार, काममा ढिलाइ, न्याय सम्पादनमा ढिलाइ, विकास निर्माणमा ढिला सुस्ती लगायत एक दर्जनभन्दा बढी समस्याबाट जनताहरू वाक्क भएपछि जेनजी नामको आन्दोलनबाट ७० जनभन्दा बढीले मृत्युवरण गरिसक्नुभएको छ र आन्दोलनबाट प्राप्त सरकार बनेको छ ।

२०८२ भदौ २३ गते के.पी. शर्मा ओलीको नेतृत्वको सरकार विद्यमान रहेको बेलामा निकैले उक्त दिन ज्यान गुमाउनु पर्‍यो, केही घाइते हुनुभयो । त्यसपछि २४ गते जसरी सिंहदरबार, संसद् भवन, सरकारी कार्यालयहरू दलका पार्टी कार्यालय, दलका नेताको आवास गृह लगायत अन्य ठाउँमा तोडफोड र आगजनी, लुटपाट भयो । यसले नेपाली समाजलाई विश्वले चिन्ने मौका पाएको छ ।

नेपालमा आफूले देखेको, भोगेको अनुभव गरेको आन्दोलन र त्यसबाट भएको क्षतितर्फ राज्यले क्षति गर्ने गराउनेलाई उन्मुक्ति दिएकै कारण यो घटना घटेको हो ।

यो घटना किन घट्यो, यो घटना घटाउनमा हामी कति जिम्मेवार छौँ, त्यसोलाई आआफूले आफैँलाई प्रश्न गर्ने बेला आएको छ ।

गणतन्त्र आएको एक दशक भइसक्यो । २०६२/२०६३ सालदेखि यता जन्मेका युवालाई विगतको शासकले के गरे थाहा हुँदैन । उनीहरू नेताको गलत भाष्यको पछि हिँड्ने बाहेक अरू केही हुँदैन ।

अहिले पनि देशका शासकले भन्ने गरेका छन् राजाको पालामा बोल्न र लेख्न पाइँदैन थियो तर उनीहरूले उच्च शिक्षासम्म पढ्न राजाकै पालामा बनाइएको विद्यालय, विश्वविद्यालयमा पढेका थिए । तसर्थ राजाको पालामा बोल्न पाइन्थ्यो लेख्न पाइन्थ्यो तर विदेशीलाई खुसी पार्न विदेशीको मुद्दालाई नेपालमा स्थापित गर्न पाइँदैन थियो । यो कुरा बुझ्नु जरुरी छ ।

जेनजी नामक युवाको आन्दोलनमा विदेशीको मुद्दालाई स्थापित गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा आफ्ना मानिस घुसाउने काम भएको हो यो क्रमशः आजका युवाले बुझ्ने छन् ।

मुलुकलाई यहाँसम्म ल्याउनमा २०६२/०६३ को पापड नामक संस्था पनि जिम्मेवार छ ।

राजाको शासन अन्त गरी गणतन्त्र स्थापना गरेपछि पापड नामक संस्थाले मृत्युवरण गर्‍यो, उक्त संस्थाले दलका नेताको कार्यशैलीप्रति निगरानी राख्दै गलत काम गरेमा खबरवादी गरेको भए यो अवस्था आउने थिएन ।

उक्त पापड नामक संस्थामा आबद्ध सङ्घसंस्थाले खबरदारी गरेनन्, खाने मामलामा सहयात्री भएको थिए ।

आन्दोलनको समयमा पापड नामक संस्थालाई फेरि मृत्यु सैय्याबाट उठाएर प्रजातन्त्र, लोकतन्त्र, संविधान खतरामा पर्‍यो, वाक् स्वतन्त्रता खतरामा पर्‍यो भनेर बोल्न लगाइयो तर मृत्यु सैय्याबाट उठेको पापडको केही दम चलेन । फेरि मृत्यु सैय्यामा नै पुगेको छ ।

जेजस्तो होस् तत्काल दलीय शासनको अन्त हुने बाटोमा छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले निर्वाचन गराउने भनिन्छ तर दलका नेता मौन बसेर हेर्न सक्दैनन् ।

जेनजी युवाहरू दलभन्दा माथि उठ्नुपर्छ, नेपालमा स्थायित्व दिन प्रदेश खारेजी, स्थानीय तह दलविहीन हुनुपर्छ, दलले कानुन बनाउने गरी उसलाई पनि हल्ला गर्ने ठाउँ दिनुपर्छ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन उक्त प्रधानमन्त्रीले दलमा आबद्ध नभएकालाई समेटेर सरकार बनाउने कुरामा एक मत हुनुपर्छ, होइन भने हात्ती आयो हात्ती आयो फुस्सा नहोला भन्न सकिँदैन ।

दल र व्यक्तिभन्दा माथि मेरो देश हुनुपर्छ ।

तपाईको प्रतिक्रिया