विराटनगर । आफूलाई समृद्ध शाली मुलुक भनेर चिनाउने राष्ट्रहरूले आफ्नो मुलुकको केन्द्रीय बैङ्कमार्फत सुन आयात गरी सुन सङ्कलन गरिरहेको हुँदा अहिले सुनको मूल्यमा निकै वृद्धि भएको हो ।

नेपालको हकमा सो हुन सकेको छैन । नेपालमा सुनचाँदी आयात गर्ने अधिकार पाएका बैङ्कहरूले माग अनुसार सुन आयात गर्न सकेका छैनन् र नेपालले सुन आयात गर्नका लागि खुला नगरेको कारण सुनचाँदीतर्फ कालोबजारी भइरहेको छ । यसलाई सुनका जानकारहरूले समेत अस्वीकार गर्न सकेका छैनन् ।

नेपालमा दैनिक २० के.जी. सुन ल्याउन नेपाल राष्ट्र बैङ्कले बैङ्कलाई अनुमति दिने गरेको र उक्त ल्याइएको सुनमध्ये १२ के.जी. सुन उपत्यकाको लागि र बाँकी ८ के.जी. सुन अन्य जिल्लाका लागि छुटाइएको छ । यसमा नेपाल सुनचाँदी महासङ्घ केन्द्रीय समिति र ठुला सुनचाँदीको कारोबार गर्ने घराना र बैङ्कर्स एसोसिएसनका मिलेमतोमा उक्त काम गरी आफूले मात्र सुन लिने र दिने नीति लिएको हुन सक्ने आशङ्का गर्न थालिएको छ ।

नेपाल राष्ट्र बैङ्क भएको स्थानबाट साना सुन व्यापारीलाई थोरै परिणामको सुन खरिद गर्न सक्ने नियम बनाए पनि त्यसलाई कार्यान्वयन हुन नसक्दा थोरै परिणामको सुन खरिद गर्ने सुन व्यवसायीहरू मारमा परेका छन् । यो हुनु बैङ्कर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र उपत्यका र उपत्यका बाहिर रहेका ठुला सुन व्यवसायीहरूको अत्यधिक मिलेमतो भएको त छैन भनेर विराटनगरका साना सुन व्यवसायीहरूले आशङ्का गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घ विराटनगरमा १०० भन्दा बढी सुन व्यवसायी सदस्य छन् । मोरङले सिफारिस गरेर सुन आयातकर्ता कम छन् किनकि सुन आधा किलो र एक किलो मात्र उपलब्ध गराउने गरेको छ, जुन साना सुन व्यवसायीले सुन आयात गर्न सक्दैनन्, एक सुन व्यवसायीले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घ विराटनगरका सिफारिसमा १ वर्षमा १० के.जी. सुन पनि उठेको छैन तर यहाँका ठुला व्यवसायीले महासङ्घलाई दबाब दिई किलोका किलो सुन किनेर राख्ने र साना व्यवसायीलाई बढी रकम लिई सुन दिने गरेको कुराले व्यापकता पाएको छ ।

विराटनगरमा मात्र ठुला सुन व्यवसायी घरानाहरू ४/५ वटा छन् । उनीहरूमध्ये अधिकांशले महासङ्घलाई दबाब र प्रभावमा पारेर सुन ल्याउने गरेका छन् । यो कुराले साना सुनचाँदी व्यवसायी बिच निकै चर्चा चलेको छ ।

सुनचाँदी आयातमा गरिएको एकाधिकारलाई अन्त्य नगरेमा विराटनगरको मात्र होइन अन्य जिल्लाका साना सुनचाँदी व्यवसायीहरू आआफ्नो व्यवसायबाट पलायन हुने देखिएको छ ।

विराटनगरमा मात्र होइन अन्य जिल्लाका सुन व्यवसायीमध्ये पहुँचवालाले सिधै महासङ्घमा दबाब दिई आफूले भने जतिको सुनचाँदी आयात गर्न सक्छन् तर सानाले सक्दैनन् यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

सुनचाँदी आयातमा ठुलाकै हालीमुहाली कायमै रहेको हुँदा साना सुनचाँदी व्यवसायी सधैँ मारमा परेका छन् । विराटनगरमा ठुला सुनचाँदी व्यवसायीबाट सुनचाँदीको अवैध कारोबार गरिरहेका त छैनन् यो प्रश्न सबैका अगाडि खोजीको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया