विराटनगर । जेनजी आन्दोलनको क्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरको सवारीसाधन र अन्य कार्यालय सामानहरूको निकै हानि भएको छ । उक्त कार्यालय र कार्यालय भित्र रहेको सवारीसाधन माथि आगजनी गर्दा कार्यालयको मात्र ८ करोड ५९ लाख भन्दा बढीको सवारीसाधनको क्षति भएको छ ।
घुम्ती खाद्य प्रयोगशाला रहेको ६ पाङ्ग्रे सवारी साधन १, ४ पाङ्ग्रे सवारी साधन २ वटा (कार्यालय र विभागको), मोटरसाइकल ३ वटा कार्यालयको, मोटरसाइकल १ व्यक्तिको, १ स्कुटर कार्यालयको आगजनीबाट क्षति पुगेको छ ।
कार्यालय भवन, प्रयोगशाला लगायत कार्यालयको अन्य सामानमा पनि क्षति हुन पुगेको छ ।
कार्यालयले सवारीसाधनको मात्र तेस्रो पार्टी बिमा गराएको कुरा कार्यालय निकट सूत्रले बताएको छ । कार्यालयबाट सवारी साधन र भवनको बिमा नगरेको बताइन्छ ।
यसबाट सवारीसाधन र भवनको पनि बिमा गर्नुपर्छ भनेर नवीन सन्देश दिएको र आउँदा दिनमा त्यसतर्फ कार्यालयले ध्यान दिनुपर्ने देखिएको छ ।






