
नेपाली लेखक सङ्घ उदयपुरद्वारा हिजो (२०८२ कार्तिक २१ गते) गाईघाटमा लेखन कला सम्बन्धी अन्तरक्रिया तथा काविता वाचन कार्यक्रम आयोजना गरियो ।
नेपाली लेखक सङ्घ उदयपुरका अध्यक्ष बासुदेव पोखरेलको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि कवि विवश पोखरेलले उदयपुरको लेखक संघले लेखन कला प्रशिक्षण जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेर नयाँ पुस्ताका लेखकका लागि मार्गदर्शन तयार पार्ने काम गरेको बताउनु भयो ।
नेपाली लेखक सङ्घ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारीले कविताको आकार सानो ठूलो जस्तो भए पनि र जुनसुकै पद्धतिमा रहेर लेखे पनि कविको अभिव्यक्तिले पाठकको मन छुन सक्ने हुनुपर्ने बताउनुभयो ।

समारोहमा नेपाली लेखक सङ्घ उदयपुरका सचिव हरिविनोद खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो । सो समारोहमा साहित्यकार रवीन्द्र राजा शाही, प्रगतिशील लेखक सङ्घ उदयपुरका अध्यक्ष श्याम प्रसाद ढुङ्गाना, त्रियुग जनता क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश राई, र नेपाली लेखक सङ्घ कोशी प्रदेशका कोषाध्यक्ष लक्ष्मी रायमाझीले मन्तव्य प्रकट गर्नुभएको थियो ।
साहित्य लेखनकला सम्बन्धी विशेष सत्रमा मुख्य प्रशिक्षकको रूपमा आमन्त्रित कवि एवम् अनुवादक सन्तोषकुमार पोखरेलले कविताभित्र लय र मीठास पनि हुनुपर्ने बताउँदै उहाँ आफैँले विकास गर्नुभएको ‘नेपाली पोखरेली अनुच्छेद’पद्धतिमा आधारित लेखनकलाका वारेमा प्रशिक्षण गर्नुभएको थियो ।
कविता लेखन पद्धति सम्बन्धी उक्त प्रशिक्षणमा केही साहित्यकारहरुका साथै उदयपुरस्थित विभिन्न कलेज तथा विद्यालयका गरी उनन्चालिस जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सोही समारोहमा आयोजित काव्य सत्रमा कविहरु उद्धव घिमिरे, लक्ष्मी रायमाझी, सरिता गुरागाई, हरिविनोद खतिवडा, सम्झना असफल र देवा अधिकारीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली लेखक सङ्घ उदयपुरका सहसचिव नघराज राउतले गर्नुभएको थियो ।





