
विराटनगर । राजनीतिक दलका कार्यकर्ताहरूले राजनीतिक दबाब र प्रभावमा पारी ल्याइएको कार्यक्रमहरू दीर्घकालीन रुपमा उपलब्धि मुलक हुन सकेको छैन ।
विराटनगर महानगरपालिका कार्यपालिकामा मेयर भीम पराजुलीले विराटनगर-३ वडा समिति कार्यालयदेखि साविक घोघापैनीको बाटो छेउमा बत्ती जडान गरेपछि त्यसलाई सेल्फीरोडको संज्ञा दिइएको थियो ।
अहिले उक्त स्थान कहालीलाग्दो छ । तार चोरिएको छ, राति बल्ने सडक किनारमा बत्ती बाल्न छोडेको छ ।
यो त कम लागतमा बनाइएको थियो तर धेरै लागतमा बनाइएको विराटनगर-७ र ९ को बिचमा रहेको महावीर सडक सौन्दर्यकरणको अवस्था दर्दनाक बनेको छ । २ वर्षअगाडि राजनीतिक दबाब दिएर महावीर सडक सौन्दर्यकरण गर्ने भन्दै बजेट ल्याएकोमा उक्त योजनालाई उपभोक्ता समितिमार्फत गर्न बाध्य पारेपछि अहिलेको अवस्था कहालीलाग्दो बनेको छ ।
सङ्घीय सहरी भवन निर्माण कार्यालय विराटनगरको निगरानीमा बनाइएको उक्त महावीर सडक सौन्दर्यकरण १ वर्षदेखि कुरूप करण बनेको छ ।
सङ्घीय सरकारको ३६ लाख र उपभोक्ता समितिको १० लाखको लागतमा बनाइएको सडक सौन्दर्यकरणको लागि सडक पेटीमा राखिएको गमला, गमलामाथि रोपिएको बिरुवा, फलाम पाइमा जडान गरिएको बुजली बल, त्यहाँ राखिएको ६ वटा सिसी क्यामेराको अवस्था अन्योलपूर्ण सबै सञ्चालनमा छैनन् ।
उपभोक्ता समितिमार्फत गरिएको हुँदा उक्त समितिको अवधि समाप्त भएको छ ।
विराटनगर ७ र ९ ले यसको मर्मत सम्भार गर्नेतर्फ चासो देखाएको छैन । उपभोक्ता समितिले जम्मा गर्ने रकम कसले जम्मा गरेको थियो सो अन्योलमै छ ।
कागजी घोडा कुदाउने राजनीतिक दबाबमा गरिने कामको परिणाम नकारात्मक नै हुने देखिएको छ ।





