
नेपाल सशस्त्र प्रहरी बल (APF) र भारत सशस्त्र सीमा बल (SSB) बीचको १६औँ डिआईजी तहको समकक्ष समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।
APF नेपाल र SSB भारतका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको सो बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।
साथै, उक्त बैठकमा सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।
आगामी नेपालको प्रतिनिधि सभा निर्वाचन (फागुन २१ २०८२) लाई लक्षित गर्दै सीमा ४८ घण्टा अगावै सिल गर्ने, संयुक्त गस्ती बढाउने तथा सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने समेत उक्त बैठकले निर्णय गरेको छ।

APF नेपालका तर्फबाट डिआईजी कुमार न्यौपानेले बैठकको स्वागत गर्दै सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गर्नुभएको थियो ।
SSB भारतका तर्फबाट डिआईजी सरोज कुमार ठाकुर (IPS) ले APF नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बैठकले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न आपसी समन्वय, सहयोग र सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।
उक्त बैठकमा शसस्त्र प्रहरी बल नेपालको तर्फबाट शसस्त्र प्रहरी नायव महानिरिक्षकहरु कुमार न्यौपाने, अन्जनिकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापाको उपस्थिति रहेको थियो भने भारतीय SSB को तर्फ डिआईजी सरोज कुमार थाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमारको उपस्थिति रहेको थियो ।






